सर्लाही, २२ भदौ । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल तथा समन्वयमा पीडितहरूले फिर्ता पाएका छन्।
ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो भन्ने नथुनी महतोले मौरिसस पठाइदिने भन्दै मलंगवा नगरपालिका–१० का राजकुमार रौनियार र अजय ठाकुर, ईश्वरपुर नगरपालिका–६ का पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका–६ का सन्दीप यादवबाट विभिन्न समयमा रकम लिएका थिए।
तर, लामो समयसम्म विदेश नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए।
पीडितहरूको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले पहल तथा समन्वय गर्दै ठगी भएको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाएको थियो। सोही क्रममा आरोपी नथुनी महतोका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगी भएको १२ लाख रुपैयाँ फिर्ता गरेका हुन्।
रकम फिर्ता भएपछि वैदेशिक रोजगारीका नाममा ठगीमा परेका आफूहरूलाई स्थानीय प्रशासनको पहलबाट राहत मिलेको पीडितहरूले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सोझा नागरिकलाई आकर्षक तलब दिने प्रलोभन देखाएर रकम ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता व्यक्तिबाट सचेत रहन आग्रह गरे।
उनले वैदेशिक रोजगारीमा जानुपर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट आधिकारिकता प्राप्त संस्था तथा सरकारको सम्बन्धित निकायको समन्वयमा सञ्चालित वैधानिक प्रक्रियाबाट मात्रै जानुपर्ने बताए।
रकम फिर्ता कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अमरबहादुर खत्रीसहित स्थानीय प्रशासनका जिम्मेवार कर्मचारीहरूको उपस्थिति रहेको थियो।