सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौनास्थित श्री आधारभूत विद्यालयमा ७० लाख रुपैयाँको लागतमा नयाँ ४ कोठे विद्यालय भवन निर्माण कार्य सुरु भएको छ। भवनको शिलान्यास धनकौल गाउँपालिका अध्यक्ष रामाश्रय साहले एक कार्यक्रमका बीच गरेका हुन्।
संघीय सरकारको सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटबाट भवन निर्माण हुन लागेको स्थानीय समाजसेवी युवा दिपेन्द्र साहले जानकारी दिए। विद्यालयमा कक्षाकोठाको अभावका कारण लामो समयदेखि पठनपाठन व्यवस्थापनमा समस्या हुँदै आएको थियो।
विद्यालयका प्रधानाध्यापक राजेश कुमार सिंहका अनुसार विद्यालयमा कम्तीमा ९ वटा कक्षाकोठा आवश्यक भए पनि हाल ७ वटा मात्र छन्। तीमध्ये दुई वटा कोठा जीर्ण अवस्थामा रहेका छन् र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले अध्ययन–अध्यापन प्रभावित हुने गरेको छ।
नयाँ भवन निर्माण भएपछि एउटै कोठामा दुई कक्षाका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्दै प्रधानाध्यापक सिंहले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक सुधार आउने बताए।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साहले शिक्षा क्षेत्रको पूर्वाधार विकासलाई स्थानीय तहले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे। सीमित स्रोत–साधनका बाबजुद विद्यालय भवनको मर्मत, सम्भार तथा पुनर्निर्माण कार्यलाई निरन्तरता दिइएको र शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिका प्रतिबद्ध रहेको उनले बताए।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले पनि नयाँ भवन निर्माणले विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।