सर्लाही । नेपाली कांग्रेसले विगतका निर्वाचनमा भएका कमजोरी सुधार गर्दै आगामी स्थानीय तह निर्वाचनमा होमिने प्रतिबद्धता व्यक्त गरेको छ। सर्लाहीको गोडैता नगरपालिका–१२ मा आयोजित पार्टीको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्ने नेताहरूले विगतका गल्तीबाट पाठ सिकेर आगामी निर्वाचनमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व सभापति सुरेन्द्र प्रसाद सिंहले गोडैतामा स्थानीय नेता तथा कार्यकर्ताको सहमतिका आधारमा उम्मेदवारको टिकट वितरण गरिने बताए। निर्वाचन जित्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने स्पष्ट पार्दै उनले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी आ–आफ्नो स्तरबाट सक्रिय हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
त्यस्तै, पूर्व विधायक तथा गोडैता नगरपालिकाका नगर प्रमुखका प्रत्याशी उपेन्द्र प्रसाद कुशवाहाले विगतका निर्वाचनमा टिकट वितरणका क्रममा भएका गल्तीका कारण पार्टीले पराजय व्यहोर्नुपरेको स्वीकार गरे। आगामी निर्वाचनमा विगतका कमजोरी सुधार गर्दै अघि बढ्ने बताउँदै उनले यसपटक नगर प्रमुख पदमा आफ्नो उम्मेदवारीको दाबीसमेत प्रस्तुत गरे। उनले आगामी निर्वाचनमा आफूले जित हासिल गर्ने दाबी गरे।
नेपाली कांग्रेसका नगर सभापति अरबिन्द पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्र, पूर्व सभापति सुरेन्द्र प्रसाद सिंह, बलरा नगरपालिकाका पूर्व प्रमुख अभय प्रसाद सिंह, महिला नेत्री सुभद्रा देवी, गोडैता नगरपालिकाका सबै वडाका सभापति, पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन नगर समिति सचिव रामकरण ठाकुरले गरेका थिए।