बलरा–११ छतौनामा श्रीचन यादवको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न

trinetraexpress



सर्लाही, २८ असोज । सर्लाहीको बलरा नगरपालिका–११ छतौनास्थित रामजानकी मठमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।


जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी, समाजसेवी, शुभचिन्तक, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा चाडपर्वको शुभकामना आदान–प्रदान गर्नुका साथै सामाजिक सद्भाव, आपसी एकता, भाइचारा र स्थानीय विकासका विषयमा चर्चा गरिएको थियो।


कार्यक्रममा आयोजक यादवले जनताको सुख–दुःखमा निरन्तर साथ दिने तथा समाजको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए। उनले जनताको सम्मान, सेवा र स्थानीय तहमा परिवर्तन आफ्नो प्राथमिकता रहेको उल्लेख गरे।


यादवले आगामी स्थानीय तह निर्वाचनमा बलरा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा पनि गरे। उनले बलरामा परिवर्तन ल्याउन र जनताको चाहनाअनुसार काम गर्ने सरकार निर्माण गर्न आफूले उम्मेदवारी दिन लागेको बताए।


उनले विगतका राजनीतिक नेतृत्वले मधेसका जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै नयाँ नेतृत्वबाट समेत मधेसी जनताले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए। जनताको मत र विश्वासको सम्मान गर्दै विकास तथा सुशासनलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।


‘जनता जनार्दन नै सर्वोपरी’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले स्थानीयस्तरमा आपसी सद्भाव र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।


कार्यक्रमको अवसरमा यादवले सम्पूर्ण नगरवासी तथा देशवासीमा विजया दशमी, शुभ दीपावली र छठ पर्वको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

प्रतिक्रिया