राम विश्वास कुशवाहा । बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष एवं भाव शिरोमणि रामचन्द्र कुशवाहाको विशेष निमन्त्रणामा सर्लाही आइपुग्नुभएका वरिष्ठ समाजसेवी, विख्यात गीतकार, कुशल प्रशासक तथा अन्तर्राष्ट्रिय धावकको गौरवशाली परिचयले देश–विदेशमा परिचित व्यक्तित्व सम्माननीय श्री बुद्धवीर लामा र उहाँकी धर्मपत्नी श्रीमती जसु लामा लाई आज श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालय, रामवन–५ सर्लाहीमा एक अत्यन्त भव्य, अनुकरणीय र ऐतिहासिक सम्मान समारोहको बीच विद्यालय परिवारले गर्मजोशीपूर्वक स्वागत तथा सम्मान प्रदान गरेको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक, स्थानीय समुदाय, साहित्यिक क्षेत्रका अग्रज तथा गोडैता नगर क्षेत्रका समाजसेवीहरूको उल्लेखनीय उपस्थितिसहित सम्पन्न कार्यक्रमले विद्यालय परिसरलाई उत्सवमय बनाएको थियो। कार्यक्रमको औपचारिक सत्रमा विद्यालय तर्फबाट अतिथिद्वयलाई फूलमाला, टीका, गम्छा तथा सम्मानपत्र अर्पण गरी हार्दिक अभिनन्दन प्रकट गरिएको थियो।
कार्यक्रमकै क्रममा रामचन्द्र कुशवाहाज्यू २०६४ सालमा स्रोत व्यक्ति रहँदै गर्दा सुरक्षित रूपमा संरक्षण गरि राखिएको सम्मानपत्र र अभियान नेपाल सामुदायिक सिकाई केन्द्र गोडैता–५ को कदरपत्र पनि आज नै गरिमामय वातावरणमा हस्तान्तरण गरियो, जसले समारोहको महत्वलाई अझ उचाइमा पुर्यायो।
विद्यालयका प्रधानाध्यापक श्री राम प्रकाश कुशवाहा, सम्पूर्ण शिक्षकगण, अभिभावक समूह, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरूले बुद्धवीर लामाको योगदान, व्यक्तित्व, अनुशासन र सेवामूलक यात्राको उच्चकोटिको प्रशंसा गर्दै गोडैता–सर्लाही समुदायको तर्फबाट हर्ष, गौरव र कृतज्ञताको भाव व्यक्त गरेका थिए।
सानै उमेरदेखि सामाजिक सेवा, मानवताको रक्षा, युवाहरूको क्षमता विकास र देशभक्ति भावनामा निरन्तर लागिरहनुभएका बुद्धवीर लामाको जीवन–यात्रा नै प्रेरणादायी इतिहास मानिन्छ। कठिनाइलाई चुनौतीमा रूपान्तरण गर्दै लक्ष्यप्रति दृढ समर्पणका साथ अघि बढ्न सकिने जीवित उदाहरणका रूपमा उहाँ स्थापित व्यक्तित्व हो।
गाउँ–समुदायदेखि लिएर राष्ट्रिय मञ्च र अन्तर्राष्ट्रिय दौड प्रतियोगितासम्म, गीत–संगीतदेखि साहित्यिक योगदानसम्म, प्रशासनिक दक्षतादेखि मानवीय सहयोगसम्म—बुद्धवीर लामाको बहुआयामिक यात्रा आजको पुस्ताका लागि एक प्रेरणाको दिशानिर्देशक बनेको छ। समाजसेवामा उहाँको निरन्तर सक्रियता, आवश्यकतामा परेकाहरूलाई बिना हिच्किचाहट गरेको सहयोग तथा सबैप्रति सद्भाव राख्ने संस्कारले उहाँलाई लाखौँ मानिसका बीच ‘मानवसेवी धावक’ को रूपमा स्थापित गराएको देखिन्छ।
गत शनिबार सम्पन्न कवि शदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेवि पुरस्कार समारोहमा भाव शिरोमणि रामचन्द्र कुशवाहा ज्यूको निमन्त्रणामा सर्लाही आगमन गर्नुभएका बुद्धवीर लामा ज्यू आज पुनः विद्यालय परिवारको विशेष आतिथ्यका बीच सम्मानित हुनुभएको हो। समारोहको विशेष सत्रमा मन्तव्य राख्दै उहाँले विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायलाई अत्यन्त सरल तर हृदयस्पर्शी शैलीमा जीवनमूलक सन्देशहरू प्रदान गर्नुभयो। निरन्तर अध्ययन, साधना, सकारात्मक सोच, अनुशासन र मानव सेवा नै सफल जीवनका आधार स्तम्भ भएको उल्लेख गर्दै उहाँले बालबालिकालाई समयको मूल्य बुझ्न, सीप–ज्ञानमा दक्ष बन्न र समाजप्रति उत्तरदायी भएर अघि बढ्न प्रेरित गर्नुभयो।
उहाँले विद्यालय तथा समुदायबाट प्राप्त असिम प्रेम, सम्मान र सद्भावले आफू अत्यन्त भावुक भएको बताउँदै गोडैता र सर्लाही क्षेत्र आफ्नो मनमा सदैव विशेष स्थानमा रहने उल्लेख गर्नुभयो। श्रीमती लसु लामा ज्यूले पनि विद्यालयको वातावरण, शिक्षक–विद्यार्थीहरूको अनुशासन, स्थानीय बासीहरूको हार्दिकता तथा अतिथिसत्कारको खुलेर प्रशंसा गर्नुभयो।
विद्यालय परिवारका अनुसार, सबैको सक्रिय सहभागिता, उत्साहपूर्ण उपस्थिति, सम्माननीय अतिथिहरूको प्रेरणादायी सम्बोधन र समुदायको एकताले गर्दा आजको कार्यक्रम अत्यन्त सफल, भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
विद्यालयले यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीमा सकारात्मक सोच, प्रेरणा र सामाजिक उत्तरदायित्व बोध गराउने बताउँदै आगामी दिनमा पनि यस्ता व्यक्तित्वहरूको स्वागत–सम्मान निरन्तर जारी रहने जनाएका छन ।