नाबालकलाई सुर्ती–मदिरा बेच्नेलाई कारबाही गर्न झाको ताकेता

trinetraexpress


मलङ्गवा, सर्लाही — सर्लाही जिल्लामा बालबालिकाहरू तीव्र रूपमा लागुऔषध र कुलतको सिकार बन्दै गएपछि सर्लाही जिल्ला बाल क्लब सञ्जालका अध्यक्ष वेद प्रकाश झा कडा रूपमा प्रस्तुत हुनुभएको छ। बालबालिकाको भविष्य जोगाउन अध्यक्ष झाले जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कडा कानुनी कदम चाल्न माग गर्नुभएको हो।  

जिल्लाभरका पसलहरूबाट १८ वर्ष मुनिका बालबालिकाहरूलाई सुर्तीजन्य पदार्थ, मदिरा, प्रतिबन्धित औषधि र नशालु घोलक पदार्थहरू सजिलै उपलब्ध गराइरहेको पाइएपछि सञ्जालले यो कडा अडान लिएको हो।  

नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ लाई उद्धृत गर्दै अध्यक्ष झाले बालबालिकालाई नशालु पदार्थ बेच्नु गम्भीर कानुनी अपराध भएको स्पष्ट पार्नुभयो। उहाँले आजैका मितिदेखि जिल्लाका सम्पूर्ण स्थानीय तह, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघमार्फत पत्राचार गरी कडा अनुगमन गर्न र गैरकानुनी रूपमा बिक्री-वितरण गर्ने पसल सञ्चालकहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्नुभएको छ।

प्रतिक्रिया