बलराका ३ वडा बालविवाहमुक्त घोषणा, एक वर्षभित्र नगरलाई मुक्त बनाउने लक्ष्य

trinetraexpress

२० वर्ष पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक सम्मानित, गोडैतामा पनि प्रतिबद्धता


राधेश्याम कुशवाहा, बलरा, सर्लाही,२३ असोज। सर्लाहीको बलरा नगरपालिकाका तीनवटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। नगरपालिकाको वडा नं. ४, ७ र ११ बालविवाहमुक्त घोषित भएका हुन्। पछिल्लो पटक शुक्रबार वडा नं. ११ लाई बालविवाहमुक्त घोषणा गरिएको हो।

बलरा नगरपालिका–११ स्थित सुद्या राजेश्वर माध्यमिक विद्यालयमा आयोजित समारोहमा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा र वडा अध्यक्ष सुखलाल सहनीले संयुक्त रूपमा घोषणासम्बन्धी ब्यानर अनावरण गर्दै वडालाई बालविवाहमुक्त घोषणा गरेका थिए।

वडा सचिव मधुरेन्द्र सिंहले प्रस्तुत गरेको तथ्याङ्कअनुसार गतबर्षमा २६ प्रतिशत बालविवाह रहेकोमा वडा नं. ११ मा बालविवाहको दर उल्लेख्य रूपमा घटेको छ। प्रस्तुत विवरणमा २० वर्ष उमेर नपुगी हुने विवाहको दर हाल ३.८८ प्रतिशत रहेको उल्लेख छ।

यसअघि बलरा नगरपालिका–७ लाई गत वर्ष बालविवाहमुक्त वडा घोषणा गरिएको थियो। घोषणा हुनुभन्दा एक वर्षअघि उक्त वडामा बालविवाहको दर २१ प्रतिशत रहेकामा घटेर ४.५ प्रतिशतमा झरेपछि बालविवाहमुक्त घोषणा गरिएको थियो। त्यस्तै, वडा नं. ४ मा गत वर्ष १४ प्रतिशत रहेको बालविवाहको दर घटेर पाँच प्रतिशतमा झरेपछि गत असोज १९ गते बालविवाहमुक्त वडा घोषणा गरिएको थियो।

समुदायस्तरमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, बाल क्लबको सक्रियता, अभिभावकको सहभागिता तथा सरोकारवालाबीचको समन्वयले बालविवाह न्यूनीकरणमा सकारात्मक योगदान पु¥याएको कार्यक्रममा बताइएको थियो।

बालविवाह रोकथाम तथा २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना छोराछोरीको विवाह कानुनी उमेर पुगेपछि गराउने अभिभावकलाई कार्यक्रममा सम्मान गरिएको थियो। उक्त सम्मान कार्यक्रमका लागि बलरा नगरपालिकाले २५ हजार रुपैयाँ उपलब्ध गराएको आयोजकले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष सहनीले आगामी दिनमा वडा नं. ११ मा बालविवाह हुन नदिन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने युवायुवतीलाई वडा कार्यालयमार्फत प्रोत्साहन उपलब्ध गराउने घोषणासमेत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुशवाहाले आगामी एक वर्षभित्र बलरा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वडा नं. ११ को उपलब्धिलाई दिगो बनाउँदै बाँकी वडामा समेत बालविवाह अन्त्यको अभियानलाई निरन्तरता दिइने बताए।

बालविवाहजस्ता हानिकारक सामाजिक अभ्यास र कुसंस्कार अन्त्य गर्न छोरा र छोरीलाई समान अवसरसहित गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै नगर प्रमुख कुशवाहाले छोरीलाई शिक्षित र सक्षम बनाउनु परिवार तथा समाजको साझा जिम्मेवारी भएको बताए। भौतिक पूर्वाधार विकाससँगै बालविवाह रोकथाम र सामाजिक सुधारका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेर काम गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कार्यक्रममा बालबालिकाले विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति दिनुका साथै बालविवाहविरुद्ध जनचेतनामूलक नाटक प्रदर्शन गरेका थिए। नाटकमार्फत बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, भविष्य तथा समग्र जीवनमा पार्ने नकारात्मक प्रभावबारे सन्देश दिइएको थियो।बलरा नगरपालिका, सम्बन्धित वडा कार्यालय, सेभ द चिल्ड्रेन तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपीके), मलंगवाको समन्वय र सहकार्यमा बालविवाह रोकथाम, जनचेतना अभिवृद्धि तथा बालविवाहमुक्त वडा 

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, वडा तथा स्थानीय बाल अधिकार समितिका पदाधिकारी, बाल कल्याण अधिकारी, प्रहरी, शिक्षक, बाल क्लब तथा बाल सञ्जालका प्रतिनिधि, अभिभावक, सामाजिक तथा धार्मिक अगुवा, महिला स्वास्थ्य स्वयंसेविका, संघसंस्थाका प्रतिनिधि र बालबालिकाको सहभागिता थियो।

यसैबीच, सर्लाहीको गोडैता नगरपालिकामा पनि बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गरिएको छ। गोडैता नगरपालिका–५ लाई असोज २८ गते बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीसँगै वडा बाल अधिकार समितिको नेतृत्व र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलंगवाको सहयोगमा हस्ताक्षर तथा प्रतिबद्धता अभियान सञ्चालन गरिएको हो।

अभियानमार्फत २० वर्ष उमेर नपुगी गरिने विवाहलाई कानुनविपरीत भन्दै त्यस्तो अभ्यास पूर्ण रूपमा अन्त्य गर्न माग गरिएको छ। बालविवाहमुक्त वडा घोषणाको तयारीसँगै स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्ने र बालविवाह रोकथामका लागि सामूहिक प्रतिबद्धता जुटाउने काम भइरहेको आयोजकले जनाएको छ।

बालविवाहमुक्त वडा घोषणा गर्नु मात्र पर्याप्त नहुने भएकाले घोषणालाई दिगो बनाउँदै बालविवाहको पूर्ण अन्त्य गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक, बाल क्लब तथा समुदायको निरन्तर सहकार्य आवश्यक देखिएको छ।

प्रतिक्रिया