सर्लाहीका चोर नाकामा खुल्ला तस्करी, कसको संरक्षण?

newsdesk

सर्लाही — सर्लाही जिल्लाका विभिन्न सीमावर्ती चोर नाकाहरू हुँदै ठूलो परिमाणमा विदेशी तथा भारतीय सामानको अवैध तस्करी खुल्लमखुल्ला भइरहेको पाइएको छ। स्थानीय स्रोतका अनुसार जिल्लाका सग्राम्पुर, पर्सा, त्रिभुवननगर, गोरखकाली, भाँडसर, बारा उधोरण, सिमरा, मधुवनी, अर्नाहा लगायत दर्जनौं नाकाबाट दैनिक रूपमा लाखौं रुपैयाँ बराबरका सामान नेपाल–भारत ओसारपसार भइरहेको छ।

तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायकै केही व्यक्तिहरूको संलग्नता रहेको आरोपले स्थिति झन् जटिल बनेको छ। स्रोतका अनुसार सुरक्षा निकायका केही जिम्मेवार पदाधिकारीदेखि प्रदेश तहसम्मको मिलेमतोमा तस्करी भइरहेको दाबी गरिएको छ, जसले गर्दा अवैध कारोबार नियन्त्रणभन्दा बाहिर जान थालेको स्थानीयको गुनासो छ।

विशेष गरी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक सुरेश महतो र नेपाल प्रहरीका कृष्णनन्दन ‘घुमुवा’ को रूपमा परिचालित भई तस्करहरूसँग नियमित रूपमा रकम संकलन गरी ‘लाइन’ मिलाउने कार्य भइरहेको आरोप पनि उठेको छ। यस्ता गतिविधिले तस्करहरूलाई निर्भय बनाउँदै लगेको र सर्लाहीमा तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।

यसैबीच, भारततर्फको एसएसबी (सशस्त्र सीमा बल) ५१ औं बटालियनले हिजो राति हनुमाननगरस्थित नेपाल–भारत सीमा क्षेत्रमा ठूलो परिमाणको तस्करी नियन्त्रणमा लिएको जनाएको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा करिब ३,५१५ केजी चाइनिज स्याउ (सेव) सहित दुईवटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ। उक्त घटनाले सीमाक्षेत्रमा हुने अवैध तस्करीको वास्तविकता फेरि एकपटक उजागर गरेको छ।

यता, सर्लाहीमा सक्रिय नामुद तस्कर सन्तोष भण्डारीको नेतृत्वमा संगठित तस्करी सञ्जाल सञ्चालन भइरहेको र उक्त सञ्जालले स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई आर्थिक प्रभावमा पार्दै गतिविधि सञ्चालन गरिरहेको स्रोतको दाबी छ।

स्थानीय बासिन्दाले सीमाक्षेत्रमा कडा निगरानी, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार, जबसम्म तस्करीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइँदैन, तबसम्म यस्ता अवैध गतिविधि रोकिने सम्भावना न्यून देखिन्छ।

प्रतिक्रिया