राधेश्याम कुशवाहा, मलंगवा, सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभर अपराध रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन ‘सिसिटिभी लगाऔँ’ अभियान सुरु गरेको छ। अभियानको शुभारम्भ सदरमुकाम मलंगवाबाट गरिएको हो।
सामुदायिक प्रहरी सेवा केन्द्र मलंगवा, सामुदायिक प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीको अगुवाइमा स्थानीय व्यापारीहरूको सहकार्यमा अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख रविन्द्रनाथ पौडेलका अनुसार जिल्लाका प्रमुख बजार, व्यापारिक क्षेत्र तथा संवेदनशील स्थानहरूमा सिसिटिभी क्यामेरा जडान गरी नागरिक तथा व्यवसायको सुरक्षा सुनिश्चित गर्ने, साथै अपराध रोकथाम र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
“अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिको प्रयोग आजको आवश्यकता हो। सिसिटिभी कम लागतमा प्रभावकारी सुरक्षा उपाय भएकाले यसको विस्तारलाई प्राथमिकता दिएका छौं,“ प्रहरी प्रमुख पौडेलले बताए।
उनका अनुसार अभियान मलंगवामा मात्र सीमित नरही इलाका प्रहरी कार्यालयहरूको कार्यक्षेत्रअन्तर्गत रहेका जिल्लाका प्रमुख बजार तथा चोकहरूमा पनि विस्तार गरिनेछ।
प्रहरीले स्थानीय तहहरूलाई पनि मुख्य चोक, सार्वजनिक स्थल तथा अपराधको उच्च जोखिम रहेका स्थानहरूमा सिसिटिभी जडान गरी त्यसको प्रत्यक्ष निगरानी प्रहरी कार्यालयबाट हुने व्यवस्था मिलाउन आग्रह गरेको छ। प्रहरी प्रमुख पौडेलका अनुसार केही स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि यससम्बन्धी बजेटसमेत विनियोजन गरिसकेका छन्।
यता, उद्योग वाणिज्य संघ मलंगवाका महासचिव संजय यादवले व्यवसायीहरूले आफ्ना पसल तथा व्यावसायिक प्रतिष्ठानमा अनिवार्य रूपमा सिसिटिभी जडान गर्नुपर्नेमा जोड दिए।
उनले पछिल्लो समय बजार क्षेत्रमा मोटरसाइकल तथा साइकल चोरीका घटनामा वृद्धि भएको उल्लेख गर्दै खुला नेपाल–भारत सीमाका कारण सर्लाहीका बजारहरू अझ बढी संवेदनशील रहेको बताए।
“स्थानीय तहहरूले पनि बजारका मुख्य चोक, सार्वजनिक स्थल तथा अपराध हुने सम्भावना बढी रहेका क्षेत्रमा सिसिटिभी जडान गर्न आवश्यक छ,“ यादवले भने।
उनले उद्योग वाणिज्य संघका जिल्लाभर रहेका शाखाहरूसँग समन्वय गरी अभियानलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालयका अनुसार उद्योग वाणिज्य संघ मलंगवासँगको सहकार्यमा सुरु भएको यो अभियान आगामी दिनमा जिल्लाका अन्य स्थानीय तह तथा बजार क्षेत्रहरूमा समेत विस्तार गरिनेछ।