बढुवापछि उदाहरणीय कार्य: मानव सेवा आश्रममा मिष्ठान भोजन

trinetraexpress


सर्लाही। बढुवा र जन्मदिनजस्ता खुसीका अवसरमा मासु–मदिरासहित भोजभतेर गर्ने प्रचलनलाई चुनौती दिँदै इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत असइ धुलि सिंह जिम्बाले मानव सेवा आश्रम, हरिवनमा आश्रित ज्येष्ठ नागरिकलाई मिष्ठानसहित दिवा भोजन गराएका छन्।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको साउन ६ गतेको पत्रअनुसार असइ पदबाट सइ पदमा बढुवा भएका जिम्बाले आफ्नो बढुवाको खुसीलाई सामाजिक सेवासँग जोड्दै आश्रममा रहेका बुबाआमासँग भोजनको व्यवस्था गरेका हुन्।

बढुवा वा जन्मदिनको अवसरमा तडकभडकका साथ भोज आयोजना गर्ने परम्पराभन्दा फरक बाटो रोज्दै जिम्बाले मानव सेवा आश्रमका आश्रित ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गरेका छन्। उहाँको यस कार्यलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

आश्रममा आश्रित बुबाआमाले जिम्बाको आत्मीयता र सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन्। जिम्बाले पनि आफ्ना खुसीका क्षण समाजका ज्येष्ठ नागरिकसँग बाँड्न पाउँदा विशेष आत्मसन्तुष्टि मिलेको प्रतिक्रिया दिएका छन्।

उहाँको यो कदमले व्यक्तिगत सफलताको उत्सव केवल आफ्ना परिवार वा साथीभाइसँग मात्र नभई समाजका आवश्यकता भएका समुदायसँग पनि मनाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया