सर्लाही। निजी विद्यालयप्रतिको बढ्दो आकर्षणका कारण सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी भर्ना दरलाई बढाउने उद्देश्यले सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित श्री जनता माध्यमिक विद्यालयले नयाँ अभियान सुरु गरेको छ।
विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट ुउपहार योजनाु सञ्चालन गर्दै कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने पहिलो १०० जना विद्यार्थीलाई झोला, कापी, कलम र पेन्सिलसहित शैक्षिक सामग्री वितरण गरेको हो।
विद्यालयका प्रधानाध्यापक ब्रह्मानन्द साहका अनुसार विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउने र सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले यो योजना ल्याइएको हो।
ूपछिल्लो समय निजी विद्यालयप्रतिको आकर्षण बढ्दै जाँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना घटिरहेको छ। त्यसलाई मध्यनजर गर्दै विद्यालयले आफ्नै स्रोतबाट उपहार योजना सञ्चालन गरेको हो,ू प्रधानाध्यापक साहले बताए।
उनका अनुसार गत वर्ष विद्यालयमा ६४ जना नयाँ विद्यार्थी भर्ना भएका थिए। यस वर्ष भने उपहार योजनाको प्रभावले नयाँ विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको विद्यालयको दाबी छ।
विद्यालयले कक्षा १ देखि ५ सम्म अध्ययनरत १४५ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ४०० रुपैयाँका दरले छात्रवृत्ति पनि वितरण गरेको छ। छात्रवृत्ति प्राप्त गर्नेमा छात्रा तथा दलित समुदायका विद्यार्थी रहेका छन्।
यस विद्यालयमा माध्यमिक तहदेखि उच्च शिक्षासम्म शिक्षा, विज्ञान, कृषि तथा वाणिज्य संकायमा अध्यापन हुँदै आएको छ। विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थी आकर्षित गर्न विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।