राम विश्वास कुशवाहा, नेपालगन्ज – योग समिति नेपाल केन्द्रीय कार्यालय, नेपालगन्जले विशेष समारोहको आयोजना गरी नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सचिव तथा नेपाल सरकारको सामान्य प्रशासन अधिकृत श्री भरत कुशवाहाज्यूलाई सम्मान गर्नुका साथै मायाको चिनोसमेत प्रदान गरेको छ।
कार्यक्रममा योग समिति नेपालका केन्द्रीय अध्यक्ष योगगुरु आचार्य गिरिराज भट्टराईज्यूसहित सम्पूर्ण योग समिति परिवारले श्री कुशवाहाज्यूप्रति हार्दिक माया, स्नेह, प्रेम र कदर प्रकट गरेका थिए। कार्यक्रममा उपस्थित वक्ताहरूले समाजसेवामा उहाँले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै निरन्तर सहयोगी भावनालाई अनुकरणीय रहेको उल्लेख गरे।
श्री कुशवाहाज्यू विगतदेखि नै योग समिति नेपाललाई नैतिक, सामाजिक तथा आर्थिक रूपमा सहयोग गर्दै आउनुभएको छ। उहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म समाजसेवाको यात्रामा निरन्तर संलग्न रहँदै विपन्न, अनाथ तथा असहाय वर्गलाई सहयोग पुर्याउँदै आउनुभएको छ। बाल्यकालदेखि नै समाजप्रतिको लगाव राख्दै विभिन्न अनाथआश्रम, विद्यालय, स्वास्थ्य संस्थामा उहाँको योगदान रहँदै आएको छ।
उहाँको सक्रिय समाजसेवा, योग समिति नेपालप्रतिको आत्मीय सम्बन्ध र निरन्तर योगदानलाई स्मरण गर्दै कार्यक्रमका सहभागीहरूले विशेष धन्यवाद ज्ञापन गरे। साथै, भविष्यमा अझ प्रेरणादायी नेतृत्वदाताको रूपमा कुशवाहाज्यू समाजमा स्थापित हुने विश्वास पनि व्यक्त गरिएको थियो।
यस अवसरमा योग समिति नेपालका पदाधिकारी तथा सदस्यहरूले श्री कुशवाहाज्यूप्रति शुभकामना व्यक्त गर्दै उहाँको दीर्घायु, उत्तरोत्तर प्रगति र निरन्तर समाजसेवाको यात्राका लागि हार्दिक मंगलकामना गरेका थिए।