उपत्यकामा साहित्यकार रामचन्द्र कुशवाहालाई भव्य सम्मान

newsdesk

राम विश्वास कुशवाहा, काठमाडौं, भदौ १० । नेपाल कुशवाहा कल्याण समाज उपत्यका कार्यसमितिको आयोजनामा मंगलबार राजधानी काठमाडौंमा एक भव्य भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साहित्य, समाजसेवा र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका बज्जिका साहित्य समाज, सर्लाहीका जिल्ला अध्यक्ष तथा भाव–शिरोमणि रामचन्द्र कुशवाहालाई विशेष सम्मान गरिएको हो।

कार्यक्रममा समाजका राष्ट्रिय अध्यक्ष राकेश मेहता, केन्द्रीय उपाध्यक्ष नीलम कुशवाहा, केन्द्रीय सदस्य राजु कुशवाहा, कुशवाहा बुद्धिजीवी समाजका महासचिव पुण्यलाल कुशवाहा, सहकारी संस्थाका सचिव सरोज कुशवाहा, वरिष्ठ बुद्धिजीवी तथा संस्थापक नागेन्द्र कुशवाहालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मानित व्यक्तित्व रामचन्द्र कुशवाहाले कलमको माध्यमबाट सयौं विद्यार्थीलाई शिक्षा दिने अवसर सिर्जना गर्दै आएका छन्। उहाँले दर्जनौं पुस्तकमार्फत समाजमा चेतना फैलाउने, गरिब तथा अन्यायमा परेकालाई शिक्षादेखि जीवनयापन गर्ने सीपसमेत सिकाउने उल्लेखनीय योगदान पु-याएका कारण राजधानीमा भव्यतापूर्वक सम्मान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कुशवाहा कल्याण समाजका राष्ट्रिय अध्यक्ष राकेश मेहताले कुशवाहालाई समाजको गौरव मात्र नभई राष्ट्रकै लागि अनुकरणीय व्यक्तित्वको रुपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “रामचन्द्रजस्ता व्यक्तित्वकै कारण आज कुशवाहा समाजले राष्ट्रिय स्तरमा पहिचान बनाएको छ। उहाँको कलमले जेहेनदारलाई शिक्षा, गरिबलाई सहारा र अन्यायमा परेकालाई न्याय दिएको छ। यस्ता व्यक्तित्व नै हाम्रो समाजका आधारस्तम्भ हुन्।”

वक्ताहरूले पनि उहाँको समर्पण र योगदानलाई प्रशंसा गर्दै, नयाँ पुस्तालाई मार्गदर्शन गर्ने प्रेरणादायी व्यक्तित्वका रूपमा वर्णन गरे।

कार्यक्रमको अन्त्यमा सम्मानित रामचन्द्र कुशवाहाले सबैप्रति आभार व्यक्त गर्दै समाजलाई अझ एकताबद्ध र सक्षम बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उपस्थित सबैलाई हरितालिका तीज पर्वको शुभकामना समेत दिनुभयो।


प्रतिक्रिया