मलंगवा (सर्लाही), भदौ २५ ।
देशभर जारी जेन-जी यूवा समूहको आन्दोलनका क्रममा सर्लाहीमा पत्रकारमाथि दुर्व्यवहार भएको छ।
बुधवार सर्लाही सदरमुकाम मलंगवामा वंशल प्रहरी विट जलाउने क्रममा घटनाको फोटो–भिडियो खिचिरहेका मेरो शान टिभीका पत्रकार राजीव साहमाथि आन्दोलनकारीले दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ (एफएनजे) सर्लाही शाखाले जनाएको छ।
पत्रकार साहका अनुसार आन्दोलनकारीहरुले उनलाई दुई–तीन मुक्का प्रहार गर्नुका साथै खिचेका भिडियो सबै डिलिट गराएका थिए। हेलमेट लगाएको कारण गम्भीर चोट नलागे पनि पत्रकार सुरक्षामाथि ठूलो प्रश्न खडा भएको छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महासंघ सर्लाहीले पत्रकार साहमाथि भएको दुर्व्यवहारलाई प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कार्यका रूपमा व्याख्या गरेको छ। महासंघका सचिव सोम दियालीद्वारा जारी विज्ञप्तिमा दोषीको पहिचान गरी कानूनी कारवाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरिएको छ।
यसअघि भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनमा देशभर १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघले आन्दोलनका क्रममा पत्रकार सुरक्षाको विषयलाई गम्भीर रूपमा लिन सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।