पर्सा गाउँपालिकाले ३४ करोडको बजेट सार्वजनिक, कृषि, सिँचाई र पूर्वाधारलाई प्राथमिकता

newsdesk

पर्सा, सर्लाही । जिल्लाको पर्सा गाउँपालिकाले शुक्रबार १५औँ गाउँसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष धीरेन्द्र रायले कुल ३४ करोड ३१ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य, सडक ढलान र भौतिक पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बजेटको ढाँचा तयार गरेको जनाएको छ।

गाउँसभाको उद्घाटन समारोहमा मधेश प्रदेशसभा सदस्य जङ्गीलाल राय प्रमुख अतिथि रहनुभएको थियो भने हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पुष्पराज गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

हालसम्म सर्लाहीका सबै २० वटै पालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन्। यद्यपि, पर्सा गाउँपालिकाको बजेट असार १० गतेभित्र प्रस्तुत हुन नसकेर तीन दिन ढिलो भएको हो। ढिलाइको कारण बजेट बाँडफाँडमा उपाध्यक्ष र वडाध्यक्षहरूको अध्यक्षसँगको सहमति अभाव रहेको बताइएको छ।

शुक्रबारको गाउँसभामा गाउँपालिका उपाध्यक्ष नुतन देवी सहित वडाध्यक्षहरू समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया