जसपा सर्लाहीद्वारा विरोध प्रदर्शनको कार्यक्रम घोषणा, अशोक यादवमाथिको दुर्व्यवहारको विरोध

newsdesk

सर्लाही – जनता समाजवादी पार्टी (जसपा), सर्लाही जिल्ला समितिले पार्टीका मधेस प्रदेशका पूर्व अध्यक्ष तथा प्रदेशसभा सदस्य अशोक यादवमाथि जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार बहादुरले गरेको दुर्व्यवहारको कडा विरोध गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।


जसपाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यादवमाथि गरिएको व्यवहारलाई अत्यन्त आपत्तिजनक र अपमानजनक भन्दै तीव्र विरोध जनाएको हो। विज्ञप्तिमा सर्लाही जिल्लामा भइरहेका भ्रष्टाचार, प्रशासनिक मनोमानी, ठगी, लुटपाट र अन्य अव्यवस्थाहरूको पनि विरोध गरिएको छ।


तीन चरणको आन्दोलन कार्यक्रम


विरोधका रूपमा जसपाले तीन चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।

पहिलो चरण अन्तर्गत साउन २० गते (मंगलवार) बिहान ११ बजे सर्लाहीको जिल्ला विकास चौकदेखि नगरपालिकाको पुरानो प्रहरी कार्यालय, जुनार बजार, जिल्ला प्रहरी कार्यालय हुँदै सहिद पार्कसम्म विशाल विरोध ¥याली र प्रदर्शन गरिनेछ।


त्यसपछि, साउन २१ गते (बुधवार) बेलुकी ७ बजे मसाल जुलुस आयोजना गरिने जसले जिल्ला विकास चौकदेखि नगरपालिकाको कोणसभा स्थलसम्म पुगेर कार्यक्रम टुंग्याउने छ।


तेस्रो चरणमा, साउन २२ गते (बिहीबार) देखि अनिश्चितकालीन आम हड्ताल र यातायात बन्दको घोषणा गरिएको छ।


एकजुट भई आन्दोलन सफल पार्न अपिल


प्रेस विज्ञप्तिमा अध्यक्ष शम्भु प्रसाद यादवको हस्ताक्षरसहित जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र सञ्चारकर्मीहरूलाई न्यायका पक्षमा एकजुट भई आन्दोलन सफल बनाउन आग्रह गरिएको छ।


जसपाले अशोक यादवमाथिको दुर्व्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रशासनलाई गम्भीर चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया