सर्लाहीमा भन्सार छली गरिएको भारतीय गाडी पक्राउ, १५ लाख बराबरको गरगहना बरामद

newsdesk

सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा भन्सार छली गरि ल्याइएको भारतीय नम्बर प्लेटको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले बिहान करिब ९:३० बजे BR 30 AK 7220 नम्बरको भारतीय स्कोर्पियो गाडी जाँच गर्ने क्रममा कुनै भन्सार कागजात नदेखाएको र चालकले मापसे गरेको अवस्थामा फेला पारेपछि कारवाही अगाडि बढाइएको थियो।

प्रहरीले कागजात र वैकल्पिक चालक बोलाउन अनुरोध गरेपछि चालकसहित गाडीमा सवार चार जना व्यक्ति गाडी त्यहीँ छाडेर फरार भएका थिए।

शंका लागी गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा गाडीको तलासी लिएको थियो। तलासीका क्रममा गाडीको इन्जिन भागमा प्लास्टिकले बेरेको झोलाभित्र गम्छाले बेरेर राखिएका धातुका गरगहना, चाँदीका सामग्री र नगद गरी करिब १५ लाख रुपैयाँ बराबरको सामान फेला परेको हो।

गाडी र बरामद गरिएका सामग्रीहरू भन्सार छली तथा चोरी पैठारीको आरोपमा आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया