सर्लाहीमा बज्जिका जागरण अभियान गठन

newsdesk

सर्लाहीमा बज्जिका भाषा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बज्जिका जागरण अभियान गठन गरिएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार जिल्लावासीमध्ये ६० प्रतिशतभन्दा बढीको मातृभाषा बज्जिका रहे पनि आवश्यक जागरण अभाव रहेको अवस्थामा विद्यालय, क्याम्पस तथा गाउँ–समाजमा अभियान सञ्चालन गरिने भएको हो।

सदरमुकाम मलंगवामा साहित्यकार रामचन्द्र महतो कुशवाहाको निवासमा बसेको साहित्यकार तथा भाषासेवीहरूको भेलाले महादेव झाको अध्यक्षतामा बज्जिका जागरण अभियान गठन गरेको हो। अभियानमा राजेन्द्र ठाकुर उपाध्यक्ष, शत्रुघ्न महतो सचिव, ललितादेवी कुशवाहा सहसचिव, जगदीप प्रताप पाण्डे कोषाध्यक्ष तथा नवीनकुमार कुशवाहा र उपेन्द्र महतो सदस्यमा चयन भएका छन्।

पहिलेदेखि नै बज्जिका साहित्य समाज सर्लाही सक्रिय रहे पनि मातृभाषामा थप जागरण ल्याउन अभियानलाई औपचारिकता दिइएको अध्यक्ष झाले बताए। मातृभाषा सेवामा तन, मन र धनले समर्पित हुने उनको भनाइ छ।

प्रतिक्रिया