पत्रकार आचारसंहिता सम्बन्धि गोष्ठी सम्पन्न, सर्लाहीमा बढ्दो आचारसंहिता उल्लंघनप्रति चिन्ता ।

newsdesk

राधेश्याम कुशवाहा, सर्लाही ।। मिडिया काउन्सिल सर्लाहीको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा “पत्रकार आचार संहिता सम्बन्धी गोष्ठी” बुधबार मलंगवामा सम्पन्न भएको छ।

मलंगवा नगरपालिका स्थित होटल सुजातामा सम्पन्न उक्त गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादवले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी रहनुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, मिडिया काउन्सिलकी सदस्य बन्दना झा, महासंघका पूर्व अध्यक्ष टंकबहादुर क्षेत्री, प्रेस यूनियन सर्लाहीका अध्यक्ष लगायतका वक्ताहरूले सर्लाहीमा पत्रकारिता क्षेत्रमा देखिएका विकृति, पित पत्रकारिता र आचारसंहिता उल्लंघनका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे।

अध्यक्ष ठाकुरले केही व्यक्तिहरूले पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै व्यक्तिगत स्वार्थपूर्तिका लागि एकपक्षीय, तथ्यहीन समाचार लेख्ने, धम्क्याउने, तस्करी तथा स्थानीय तहको सामाचार लेख्ने र बार्गेनिङ गर्ने जस्ता कार्य गर्दै आएको बताउँदै त्यसले सम्पूर्ण जिल्लाको पत्रकारिता पेशालाई नै बदनाम गरिरहेको बताए। 

उनले पुराना पुस्ताले मर्यादित ढंगले पत्रकारिता गरेका कारण हामी आज छाती फुलाएर हिडदै आएको स्मरण गराउदै सबै पत्रकारलाई आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिए।

कार्यक्रममा प्रेस मञ्च सर्लाहीका कार्यवाहक अध्यक्ष मनोज यादवले ‘सर्लाहीका पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था तथा मिडिया काउन्सिल मधेश प्रदेशसँग गरिएको अपेक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले सर्लाहीका सञ्चार परिवेश, आचारसंहिता कार्यान्वयनको वर्तमान अवस्था, सकारात्मक अभ्यास, विद्यमान चुनौती, नियामक निकाय र स्थानीय संस्थाहरूको भूमिका र सहजीकरणका विषयमा चर्चा गरे।

यादवले प्रस्तुत कार्यपत्रमा सर्लाहीमा पत्रकार आचारसंहिता पालना मिश्रित अवस्था रहेको उल्लेख गरिएको छ। केही पत्रकार र मिडिया हाउसहरूले आचारसंहिताको अनुकरणीय अभ्यास गरिरहे पनि अझै पनि संस्थागत सुधार, अनुगमन र चेतनाको आवश्यकता रहेको उनले बताए।

पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको इमानदारीपूर्वक पालन जरुरी रहेको उल्लेख गर्दै यादवले मिडिया काउन्सिल (मधेश प्रदेश) ले प्राविधिक, नीतिगत र प्रशिक्षण सम्बन्धी सहयोगमार्फत अझ प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजक्ुमार लेखीले संचार क्षेत्रमा देखिने गरेका कुनै पनि विकृति र विसंगतिको बारेमा हामी गम्भीर बन्नुपर्नेमा उहाँले जोड दिए । 

मधेस सरकारले हालसम्म मिडिया क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको स्विकार्दै नयाँ बजेट पनि सोचेजति बजेट विनियोजन गर्न नसकेको जानकारी गराए । मधेसमा सबै भन्दा कम बजेट हाम्रै मन्त्रालयमा रहेका छन । 

तर ७ बर्षमा पहिला हुन नसकेको भन्दा बढी गर्ने प्रयास गरेको छु, उहाँले भने । पत्रकारका लागि जिवन बिमा, दुर्घटना विमा, स्वास्थ्य विमा, लगायत विभिन्न कार्यक्रम संचालनका साथै ८ वटै जिल्लाका महासंघका कार्यालय संचालनका लागि १०–१० लाख बजेट विनियोजन गरेको बताए । 

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मधेस प्रदेश सांसद जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, आम संचार प्राधिकरण जनकपुरधामका अध्यक्ष जितेन्द्र खड्का, चलचित्र तथा लोक संचार प्रवद्र्धन परिषद्का अध्यक्ष किशोर कुमार लेखी, एमाले सर्लाही अध्यक्ष राजनारायण साह, मिडिया काउन्सिलका प्रशासकीय प्रमुख टेक विक्रम साह, सञ्चारकर्मीहरु तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


प्रतिक्रिया