सर्लाहीका सात प्रहरी निरीक्षकको सरुवा

newsdesk

सर्लाही, मलंगवा । सर्लाहीमा कार्यरत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखसहित सात जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज देशभरका ६६५ जना इन्स्पेक्टरको सरुवा गर्दा सर्लाहीका सात जना पनि सूचीमा परेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख इन्स्पेक्टर रजोस घिमिरेको सरुवा जिल्ला प्रहरी कार्यालय तनहुँमा गरिएको छ। उनको स्थानमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट इन्स्पेक्टर अशोककुमार साह आउँदै छन्।

इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर उमाकान्त जोशीलाई सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा पठाइएको छ । बयलवासमा नयाँ इन्चार्जका रूपमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका इन्स्पेक्टर नितेशकुमार सिंह आउने भएका छन्।

त्यसैगरी, इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमनराज अर्यालको सरुवा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौंमा भएको छ। उनको स्थानमा इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट इन्स्पेक्टर शिव कटेल सर्लाही पठाइएका छन्।

मुद्दा नचल्ने कार्यालयका रूपमा रहेको इलाका प्रहरी कार्यालय गडहीयाका इन्स्पेक्टर उज्वल कार्कीको सरुवा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भएको छ। गडहीयामा बागमती प्रदेश प्रहरी गण हेटौंडाबाट इन्स्पेक्टर कैलाश चौधरीलाई इन्चार्ज पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत इन्स्पेक्टर बालिष्टर सिंह र रवीन्द्र कार्कीको पनि सरुवा गरिएको छ। सिंहलाई इलाका प्रहरी कार्यालय सुनौला बजार, धादिङ र कार्कीलाई इलाका प्रहरी कार्यालय दरवाङ, म्याग्दीमा पठाइएको हो। उनीहरूको ठाउँमा क्रमशः इन्स्पेक्टर जीवन श्रेष्ठ (चिसापानी, स्याङ्जा) र इन्स्पेक्टर विन्देश्वर यादव (कोशी प्रदेश विपद् व्यवस्थापन गुल्म, झापा) आउने भएका छन्।

यस्तै, डिएसपी इन्चार्ज रहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर दिवाकर गणेशको सरुवा इलाका प्रहरी कार्यालय सिमरा, बारामा भएको छ। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट इन्स्पेक्टर किरण लामा सर्लाही पठाइएका छन्।


प्रतिक्रिया