चन्द्रनगर गाउँपालिकामा उदाहरणीय सेवा सुरु — सेफ्टी टंकी सरसफाई अब सहुलियत दरमा

newsdesk

“स्थानीय सरकार यत्तिकै बलियो हुन्छ” — जनताको भावना, अध्यक्ष राजकुमार महतोको पहललाई सराहना

सर्लाही, चन्द्रनगर – चन्द्रनगर गाउँपालिकाले जनस्वास्थ्य र स्वच्छताको दृष्टिले अत्यन्तै महत्वपूर्ण सेवा सुरु गर्दै ४ जेठ २०८२ गतेदेखि ‘सेफ्टी टंकी सरसफाई सेवा’ संचालनमा ल्याएको छ। गाउँसभा मार्फत पारित आर्थिक ऐनअनुसार सहुलियत दरमा यो सेवा गाउँपालिकाभित्रका नागरिकलाई प्रदान गरिँदैछ।

गाउँपालिकाले आफ्नै ट्यांकरमार्फत प्रत्येक घरमा पुगेर शौचालय टंकी सरसफाई गर्ने व्यवस्था गरेको छ। यस सेवाको शुल्क निम्नानुसार तोकिएको छ:

सेफ्टी टंकी महसुल (रिड अनुसार): प्रति रिड रु १००

टंकी सरसफाई (ट्र्याक्टरमार्फत): प्रति ट्यांकी रु १०००

सेवा लिन इच्छुकले चन्द्रनगर गाउँपालिकाको राजश्व शाखा वा सम्बन्धित ट्यांकर चालकसँग सम्पर्क गरी तोकिएको शुल्क बुझाएर सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्।

यस सेवाको सुरुवातसँगै अध्यक्ष राजकुमार महतो को नेतृत्वमा रहेको स्थानीय सरकारको जनउत्तरदायी भूमिका झन् प्रष्टिएको छ। सरसफाई र वातावरणीय स्वच्छता जस्ता आधारभूत तर प्रायः बेवास्ता गरिने सेवालाई प्राथमिकतामा राखेर सुरु गरिएको यस योजनाले गाउँपालिकावासीको मन जितेको छ।

“पहिलो पटक यति महत्त्वपूर्ण सेवा घरदैलोमै पाउँदा हामीलाई साँच्चिकै ‘स्थानीय सरकार भनेको हाम्रो सरकार हो’ भन्ने अनुभूति भएको छ,” एक स्थानीय बासिन्दाको भनाइ छ।

अध्यक्ष महतोले जनताको आवश्यकता बुझ्दै गाउँस्तरमै जीवन उपयोगी सेवा विस्तारलाई प्राथमिकतामा राखेका छन्। यसअघि पनि उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएका छन्।

चन्द्रनगर गाउँपालिकाको यो कदम नजिकबाट स्थानीय जनताको जीवन छुन सक्ने, स्वास्थ्य जोखिम कम गर्ने र स्वच्छताको संस्कृति प्रवर्द्धन गर्ने ऐतिहासिक प्रयासको रूपमा लिइएको छ।


प्रतिक्रिया