जनकपुरधाम, ८ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मजकोठवा निवासी पविता यादवको चार महिनासम्म पनि होस नआएपछि उनका पिता ब्रह्मदेव यादवले उपचारमा लापरबाही गर्ने अस्पताल र चिकित्सकसहित पाँच जनाविरुद्ध जाहेरी दिएका छन्।
पीडित यादवले १ जेठमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराउँदै जनकपुरधाम उपमहानगरपालिका–१४ पिडारीचोकस्थित दर्ता विनाको मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने डा. ज्ञानकुमार साह, एनेस्थेसिया सहयोगी र सूर्या अल्ट्रासाउन्डका सञ्चालक सुशील यादवलाई इलाजसम्बन्धी कसुरमा प्रतिवादी बनाएका हुन्।
जाहेरीअनुसार माघ ३ गते पविताको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया मुस्कान अस्पतालमा गरिएको थियो। शल्यक्रियापछि पविताको होस नफर्किएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। चिकित्सकले तीन दिनपछि सिटी स्क्यान गराउन भनेका थिए। स्क्यानपछि रिपोर्ट पढ्ने डाक्टर नभएको भन्दै टारिएको र त्यहीँबाट उपचारमा गम्भीर लापरबाही भएको खुलेको बुबा ब्रह्मदेव यादवको भनाइ छ।
त्यसपछि पवितालाई जानकी हेल्थ केयर लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि माघ २९ गते काठमाडौंको केएमसी अस्पतालमा भर्ना गरिएको थियो। चार महिनासम्मको उपचारमा हालसम्म ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको पविताका पति अंगेश यादवले बताएका छन्। कमजोर आर्थिक अवस्था भएकाले उनले भारतमा मजदुरी गरेर घर चलाउँदै आएका थिए। अहिले ऋण, घरधनीको धितो राखेर उपचार खर्च जुटाइरहेका छन्। केएमसी अस्पतालले पनि लाखौंको बिल तिर्न दबाब दिइरहेको उनले बताए।
घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा मधेशका आठ जिल्लाका अवैध अस्पतालहरूमा छड्के गरेर सयभन्दा बढी स्वास्थ्य संस्था बन्द गरिएका छन्। तर पविताको उपचारमा लापरबाही गर्ने मुस्कान अस्पतालले अझै पनि उपचार खर्च व्यहोरेको छैन, सञ्चालकहरू सम्पर्कविहीन छन्, र हालसम्म प्रहरी प्रशासनबाट कारबाही पनि भएको छैन।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटना जटिल र संवेदनशील भएकाले अध्ययनपछि कारबाही प्रक्रिया अगाडि बढाइने प्रतिक्रिया दिएका छन्। उनले मेडिकल काउन्सिललाई पत्राचार गरिने वा प्रहरीकै तर्फबाट अनुसन्धान अघि बढाउनेबारे छलफल भइरहेको जानकारी दिए।
पविताका बुबा ब्रह्मदेव यादवले प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको चार दिन बितिसक्दा पनि कुनै कारबाही नभएकोमा गुनासो गर्दै न्यायको अपेक्षा गरेका छन्।