सर्लाही। सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्वलाई लक्षित गरी विपन्न परिवारका व्रतालु महिलाहरूलाई साडी वितरण गरिएको छ। नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साहले आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न टोलका करिब ३०० जना महिलाहरूमाझ साडी वितरण गरेका हुन्।
साहका अनुसार उनले गरिब, दलित, एकल तथा विपन्न वर्गका महिलालाई लक्षित गरी व्यक्तिगत खर्चमा साडी वितरण गरेका हुन्। उनले भने, “छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि धेरैको अनुहारमा खुशी ल्याउन सकिन्छ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना छ।”
साहले आर्थिक रूपमा कमजोर परिवारका महिलाहरूलाई साडी वितरण गरेर पर्वमा सहभागी हुने अवसर उपलब्ध गराएको बताए। उनका अनुसार, “धेरै परिवारहरूका लागि दुई छाक खानै चुनौती हुन्छ, त्यसमाथि नयाँ लुगा किन्नु कठिन हुन्छ। त्यसैले यो सानो सहयोगले उनीहरूलाई छठ पर्वको खुशीमा सहभागी हुन प्रेरणा मिलोस् भन्ने उद्देश्य हो।”
छठ पर्व हिन्दू धर्मावलम्बीहरूको आस्था, निष्ठा र समर्पणको प्रतीकका रूपमा मनाइन्छ। सूर्य उपासना गर्ने यो पर्वमा महिलाहरूले चार दिनसम्म व्रत बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहँदै आएको छ।