जानकी मन्दिरका महन्थ वैरागीद्वारा मलंगवा-९ का विधालय अवलोकन

newsdesk


सर्लाही, मलंगवा | जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैरागीले सोमबार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–९ मा अवस्थित श्री आधारभूत विद्यालयको अवलोकन तथा निरीक्षण गरेका छन्।

अवलोकनका क्रममा उनले विद्यालय परिसरमा रहेको राम–जानकी मन्दिरमा पूजाअर्चना गर्दै विद्यालयले धर्म, संस्कार र आधुनिक शिक्षाको संयोजनमा गरेको प्रगतिप्रति उच्च प्रशंसा व्यक्त गरे।

वडा नं.–९ का वडा अध्यक्ष चन्देश्वर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष कर्णले प्रमुख अतिथि वैरागीलाई भगवान गणेशको प्रतिमा हस्तान्तरणसहित दोसल्ला ओढाएर सम्मान गरे। सो अवसरमा विद्यालयका अभिभावक तथा चन्दादाता डा. पुरुषोत्तम झाको निरन्तर सहयोगको पनि प्रमुख अतिथिले प्रशंसा गर्दै विद्यालय र विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे।

विद्यालयको प्रगति र विद्यार्थीको अनुशासनबाट प्रभावित भएका महन्थ वैरागीले बालबालिकाका लागि ५० जोडी जुत्ता–मोजा र ३० थान औजार बक्स विद्यालयलाई हस्तान्तरण गरे।

कार्यक्रममा विद्यालयका प्रअ कर्णले विद्यालयको उपलब्धि, आगामी योजना र अभिभावक–शिक्षक सहकार्यको महत्वबारे जानकारी दिँदै विद्यालयको सफलतामा डा. झाको निरन्तर सहयोग, नगरपालिकाको साथ र शिक्षकहरूको मिहिनेत मुख्य कारण रहेको बताए।

कार्यक्रममा पब्लिक मावि मलंगवा–२ का प्रअ सुभाष यादव, मावि सुन्दरपुरका शिक्षक जितेन्द्र कर्ण, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, शिक्षा समिति सदस्य जयरुद्र मिश्र, वडा सदस्य लखन राय, शिक्षा प्रेमी कमलेश कर्ण, चित्रगुप्त सेवा समितिका अध्यक्ष सुधिर कर्ण, मिथिला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र लाल कर्ण, पूर्व प्रधानाध्यापक बद्री मिश्र, समाजसेवी सुमन रञ्जन लगायत शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय बुद्धिजीवी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष यादवले विद्यालयले गरेको प्रशंसनीय कार्यको सराहना गर्दै वडा कार्यालयको तर्फबाट निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता जनाएका थिए।

सोही दिन महन्थ वैरागी गोडैता नगरपालिकामा आयोजित विद्यापति समारोहमा पनि सहभागी भएका थिए, भन्ने जानकारी प्रअ कर्णले दिएका छन्।


प्रतिक्रिया