मधेशमा शान्ति र सामाजिक सद्भाव कायम राख्न मन्त्री फकिरा महतोको अपिल

trinetraexpress

धनुषा, साउन १४ — मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएका घटनाक्रमका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले नागरिकलाई धैर्यता, संयम र जिम्मेवारीपूर्ण व्यवहार गर्न आग्रह गरेको छ।

गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले बुधबार जारी गरेको सार्वजनिक अपिलमा प्रदेशमा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नु वर्तमान समयको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभएको छ।

अपिलमा मधेश प्रदेश बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको प्रदेश भएकाले कुनै पनि घटनालाई धार्मिक वा साम्प्रदायिक रंग दिएर समाजमा विभाजन सिर्जना गर्ने प्रयासले सामाजिक एकतामाथि नकारात्मक असर पार्ने बताइएको छ। तथ्यहीन सूचना, अफवाह तथा उत्तेजक सामग्रीको प्रचार–प्रसार नगर्न र त्यस्ता गतिविधिप्रति सचेत रहन मन्त्री महतोले सबैलाई आग्रह गर्नुभएको छ।

उहाँले प्रदेश सरकार नागरिकको सुरक्षा, सार्वजनिक शान्ति तथा कानूनको शासन कायम गर्न पूर्ण रूपमा सक्रिय रहेको उल्लेख गर्दै सुरक्षा निकायसँग आवश्यक समन्वय र परिचालन भइरहेको तथा परिस्थितिको निरन्तर अनुगमन भइरहेको जानकारी दिनुभएको छ।

हिंसा, आगजनी, तोडफोड, घृणा फैलाउने अभिव्यक्ति तथा सार्वजनिक शान्ति खलबल्याउने कुनै पनि गतिविधि कानूनविपरीत रहेको स्पष्ट गर्दै यस्ता कार्यमा संलग्न जो–कोहीमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी पनि अपिलमा दिइएको छ।

मन्त्री महतोले धार्मिक अगुवा, जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज, शिक्षक, विद्यार्थी, युवा तथा सम्पूर्ण प्रदेशवासीलाई सामाजिक सद्भाव र सहअस्तित्वको वातावरण जोगाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा आउने अपुष्ट सूचनाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामात्र विश्वास गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ।

शान्ति, सहिष्णुता, आपसी सम्मान र सामाजिक एकता नै मधेश प्रदेशको पहिचान र सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै मन्त्री महतोले सबै नागरिकले जिम्मेवारीपूर्ण व्यवहार गरे वर्तमान चुनौतीलाई सहज रूपमा सामना गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। साथै, प्रदेशमा शान्तिपूर्ण वातावरण कायम राख्न सरकार सबै पक्षसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभएको छ।

प्रतिक्रिया