कौडेना गाउँपालिकाले ३८ करोड ८१ लाखको बजेट सार्वजनिक, नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारित

newsdesk

सर्लाही, कौडेना | कौडेना गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३८ करोड ८१ लाख ६९ हजार ३६८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँसभामा गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले चालू आर्थिक वर्षको बजेटको समीक्षा गर्दै आगामी वर्षका नीति, कार्यक्रम र आय-व्यय विवरण प्रस्तुत गरेका हुन्।

गत वर्ष ३५ करोड ७३ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट ल्याएको पालिकाले यस वर्ष करिब ३ करोड रुपैयाँले बजेट वृद्धि गरेको हो। अध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालिकाले आन्तरिक स्रोतबाट ३ करोड ८९ हजार रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ।

त्यस्तै, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड १४ लाख, सशर्त अनुदानबाट १५ करोड ६७ लाख, र राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसका साथै, प्रदेश सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ६१ लाख र राजस्व बाँडफाँडबाट २ करोड रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ।

गत आर्थिक बर्षमा कौडेना गाउँपालिकाले  ३५,७३,६८, ९९९ रुपैया बराबरको नीति तथा कार्यक्रम ल्याएको थियो।

गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यपालिकाका सबै सदस्यले समर्थन जनाउँदै पूर्ण बहुमतले पारित गरेका छन्। ३९ सदस्यीय कार्यपालिका बैठकमा सबैको समर्थन प्राप्त भएको अध्यक्ष यादवले जानकारी दिए।

बजेट सार्वजनिक तथा नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर यादव प्रमुख अतिथि थिए। कार्यक्रमको सञ्चालन लेखा प्रमुख हरिनारायण साहले गरेका थिए भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत सोनेलाल साहले दिएका थिए।

कार्यक्रममा उपाध्यक्ष नगिना देवी, सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीयवासी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया