वकिलको आक्रमणविरुद्ध पत्रकारको धर्ना : दोषीलाई तत्काल पक्राउ गर्न माग

newsdesk

जनकपुरधाम । गुठी संस्थानसँग सम्झौता गरेर लिएको जग्गालाई लिएर उत्पन्न विवादका क्रममा पत्रकारहरूमाथि भएको आक्रमणका दोषी अहिलेसम्म पक्राउ नपरेपछि पत्रकारहरूले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।


नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना बसेका पत्रकारहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।


पत्रकार महासंघ मधेश प्रदेशले केन्द्रीय गुठी संस्थानसँग सम्झौता गरेर ४ कठ्ठा जग्गा लिजमा लिएको थियो। तर, उक्त जग्गा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै नेपाल बार एसोसिएशन जनकपुरका केही वकिलले आपत्ति जनाउँदै विवाद सिर्जना गरेका थिए। यही क्रममा गत साउन २७ गते ती वकिलहरूले आक्रमण गर्दा महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए।


घटनापछि महासंघले दोषीको पहिचानसहित किटानी जाहेरी दिएपनि स्थानीय प्रशासनले कुनै कारबाही नगरेको भन्दै पत्रकार समुदाय आक्रोशित बनेको छ।


धर्नामा सहभागि महासंघ धनुषाका अध्यक्ष पुरन साहले प्रशासन दोषीलाई संरक्षण गरिरहेको आरोप लगाउँदै भने, “हाम्रा साथीहरू घाइते भए, किटानी जाहेरी दिएपनि प्रहरीले कारबाही गरेन। बाध्य भएर धर्नामा बस्नुपरेको हो। माग पूरा भएन भने थप कडा आन्दोलन गर्छौं।”


त्यस्तै, मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जाराले संयमता अपनाउँदै आएको तर प्रशासन उदासीन बनेको भन्दै चेतावनी दिए। “देशव्यापी आन्दोलन नहोस् भनेर हामी संयमित छौं। तर, प्रशासनको भूमिका अलोकतान्त्रिक भए हामी चुप लागेर बस्दैनौं,” उनले भने।


पत्रकार महासंघले आइतबारको धर्नालाई पहिलो चरणको दबाबमूलक कार्यक्रमको रुपमा लिएको छ। दोषी पक्राउ नगरिए चरणबद्ध आन्दोलन गर्ने तयारी गरिएको अध्यक्ष साहले बताए।


प्रतिक्रिया