सर्लाही, चन्द्रनगर – विपन्न तथा दलित बस्तीका बालबालिकालाई विगत करिब एक दशकदेखि निःशुल्क ट्युसन पढाउँदै आएका चन्द्रनगर गाउँपालिका–५ निवासी शिवनाथ कहारलाई गाउँपालिकाले विशेष सम्मान गरेको छ।
देशभरबाट ४० वर्ष मुनिका ४० प्रभावशाली युवामध्ये एक भएर अनलाइन खबर मिडियाबाट राष्ट्रिय स्तरमा सम्मानित भएपछि बुधबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतोले बधाईपत्र र दोसल्ला अर्पण गर्दै हौसला अभिवृद्धि गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष महतोले गाउँपालिकामा रहेका यस्ता प्रेरणादायी व्यक्तित्वहरू स्थानीय समुदायका लागि गर्वको विषय भएको उल्लेख गर्दै सामाजिक सेवा र शिक्षाको क्षेत्रमा कहारले पुर्याएको योगदानको उच्च प्रशंसा गरे।
“शारीरिक अपांगता हुँदाहुँदै पनि विपन्न समुदायका बालबालिकाको भविष्य उज्यालो बनाउन गरिएको निरन्तर प्रयासले हामी सबैलाई प्रेरित गरेको छ,” अध्यक्ष महतोले भने।
शिक्षामा समर्पण
शारीरिक रूपमा अशक्त रहेर लौरोको सहारामा हिँड्ने कहारले बिहान ६ बजेदेखि ८ बजेसम्म आफ्नै घरमा करिब ३० जना बालबालिकालाई निःशुल्क ट्युसन पढाउँछन्। उनीहरू अधिकांश दलित, मुसहर र आर्थिक रूपमा कमजोर परिवारका छन्।
कहारले पढाउन मात्र नभई विद्यालय जान हिचकिचाउने अभिभावकलाई बुझाएर बालबालिकालाई विद्यालय पठाउने काम पनि गर्दै आएका छन्। विभिन्न सहयोगी निकाय र व्यक्तिहरूको साथमा उनले विद्यार्थीहरूलाई पुस्तक, कपी, कलम, झोलाजस्ता आवश्यक सामग्री उपलब्ध गराएका छन्।
संघर्ष र प्रेरणा
वि.सं. २०४८ मा जन्मिएका कहारको बाल्यकालमा उपचारका क्रममा भएको त्रुटिका कारण दुवै खुट्टा जाँघभन्दा तल निष्क्रिय भए। कठिनाइका बीच हातघुँडामा टेकेर विद्यालय जान थालेका उनी पछि लौरोको सहारामा हिँड्न थाले।
विगत ९ वर्षदेखि उनले निःशुल्क ट्युसन सञ्चालन गर्दै आएका छन्, जसले बस्तीका बालबालिकाको विद्यालयमा नामांकन र उपस्थिति दर उल्लेख्य रूपमा बढाएको छ।
राष्ट्रिय स्तरको सम्मान
हालै काठमाडौँमा आयोजित कार्यक्रममा अनलाइन खबर मिडियाले देशभरका विभिन्न क्षेत्रका योगदानकर्ता ४० वर्ष मुनिका ४० प्रभावशाली युवामध्ये कहारलाई चयन गरी राष्ट्रिय सम्मान गरेको थियो।
गाउँपालिकाले गरेको यो सम्मानले, स्थानीयबासीका अनुसार, शिवनाथ जस्ता समाजसेवीहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।