वैशाख २९ गते, रौतहट — रौतहटका नयाँ प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावको आधारमा नभई नियमित प्रशासनिक प्रक्रियामार्फत रौतहट आएको स्पष्ट पारेका छन्। पत्रकार महासंघद्वारा आयोजित एक परिचयात्मक कार्यक्रममा उनले भने, “म कसैकाे साेर्समा आएको हैन। यदि स्रोतमार्फत आएको भए, रौतहट होइन, महोत्तरी वा सर्लाही जान्थेँ।”
पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति र पीडितलाई न्याय दिन आफू पूर्णरूपमा प्रतिबद्ध रहेको बताए। उनले भने, “पीडितलाई अन्याय हुन दिन्न। निर्दोषलाई दुःख दिने मेरो उद्देश्य छैन। हामी कसैलाई अनावश्यक रूपमा दुख दिने काम नगर्छौं।”
एसपी गिरीले जिल्लामा तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिने जनाउँदै भने, “तस्करी नियन्त्रण गर्नु हाम्रो कर्तव्य हो। यो सशस्त्र प्रहरीको जिम्मेवारी पनि हो। तर यदि कसैले तस्करीजन्य कार्य गर्छ भने हामी चुप लागेर हेरेर बस्दैनौं। कानूनअनुसार कारबाही हुन्छ।”
बिचौलिया संस्कृतिको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गिरीले भने, “बिचौलियालाई चिनौं, जानकारी दिऔं, प्रहरी आफ्नो काम गर्छ। हामी सबैको सहयोगमा बिचौलियाको प्रभाव अन्त्य गर्न सकिन्छ।”
प्रवेश नियन्त्रणबारे प्रश्न उठेपछि उनले स्पष्ट पारे, “कार्ड लिएर आएको बिहेको सामग्रीमा रोक छैन। हामी केवल तस्करी वा गैरकानुनी गतिविधिमा संलग्नहरूमाथि निगरानी गर्छौं।”
“हाम्रो प्रमुख दायित्व शान्ति सुरक्षाको प्रत्याभूति हो,” उनले भने, “जिल्लामा कानुनी शासन कायम राख्न प्रहरी सधैं सक्रिय हुनेछ।”
कार्यक्रममा सहभागी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले गौर नगरपालिकाका अधिकांश सिसिटिभी क्यामरा संचालनमा नरहेको बताए। “हाल बीपी चोकको क्यामरा मात्रै चलिरहेको छ। अन्य मर्मतका लागि गौर नगरपालिकासँग समन्वय भइरहेको छ,” उनले जानकारी दिए।
एसपी गिरीले सञ्चारकर्मीहरूसँग प्रत्यक्ष समन्वय र संवादको आवश्यकता औंल्याउँदै भने, “सिधा सम्पर्क राखौं। प्रेस कन्फ्रेन्सपछि मात्रै जानकारी दिनुपर्छ भन्ने सोच सकारात्मक होइन। पारदर्शी वातावरण बनाउनु आजको आवश्यकता हो।”
कार्यक्रमको अन्त्यमा पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले अपराध नियन्त्रणका लागि प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै सिसिटिभी क्यामराहरूको शीघ्र मर्मतको माग गरेका थिए।