सर्लाहीमा तस्करसँग लेनदेनको भिडियो सार्वजनिक, असई यादवसहितको टोली जिल्ला तानियो ।

newsdesk

एसपी यादव, सर्लाही, जेठ १२ गते । सर्लाही जिल्लाको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका–५ स्थित प्रहरी चौकी भाँड्सरमा कार्यरत रहेका असई राजेश प्रसाद यादव चौकी परिसरभित्रै तस्करसँगको लेनदेनमा मुछिएपछि सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्काले असई यादव लगायत सो प्रहरी चौकीका सम्पूर्ण टोलिलाई तत्काल कारबाही गरेका छन् । 

कारबाही स्वरुप जेठ ११ गते आइतबार राती असई यादवसहितको टोलिलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा तानिएको हो । भने उक्त प्रहरी चौकीमा असई जलन्धर प्रसाद यादवको नेतृत्वमा नयाँ टोलि पठाइएको छ । 

प्रहरी चौकी परिसरभित्रै असई यादव र एक तस्करबीचको बार्गेनिङ (रकमको मोलमोलाइ) समेटिएको भिडियो सार्वजनिक भएपछि एसपी खड्काले कारबाही गरेका हुन् । ४८ सेकेन्डको भिडियोमा असई यादव र तस्करबीचको संवादमा यस नाकाबाट निरन्तर तस्करी भइरहेको र त्यसवापत रकमको मोलमोलाइ गरिएको स्पष्ट सुन्न र देख्न सकिन्छ । 

यस विषयमा थप जानकारीका लागि एसपी खड्कासँग प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले, घटनाबारे प्रारम्भिक आन्तरिक छानबिन सुरु भइसकेको जानकारी दिए । 

नागरिक समाजले, असई यादवमाथि तत्काल छानबिन र विभागीय कारबाहीको माग गरेका छन् । उनीहरूको भनाइ छ, “तस्करीमा संलग्न प्रहरीलाई कारबाही नभएसम्म कानुनको शासनको अर्थ रहँदैन ।" 

तस्करीजस्तो संगठित अपराधमा संलग्न प्रहरीलाई कानुनी दायरामा ल्याइएन भने राज्यको शासनप्रणालीप्रति जनविश्वास गुम्ने खतरा रहेकोले नेपाल प्रहरीको केन्द्रीय नेतृत्व र सर्लाहीका नयाँ एसपी खड्काले यस विषयमा के कदम चाल्ने हुन् भन्नेमा अहिले सबैको ध्यान केन्द्रित भएको सरोकारवालाहरूले बताएका छन् । 

सीमानाकामा सुरक्षाको जिम्मेवारी पाएका असई राजेश प्रसाद यादवको प्रहरी चौकी भाँड्सरमा मोजमस्ति थियो । असई यादवको संरक्षणमा सिमामा गैरकानुनी क्रियाकलाप बढ्नुका साथै व्यापक तस्करी मौलाएको थियो । गत वर्षदेखि भाँड्सर चौकीको इन्चार्ज रहेका असई यादव विभिन्न अवैध गतिविधिमा संलग्न रहँदै आएका थिए । धानदेखि गाईगोरु र घरेलु तथा सिल प्याक मदिरालगायत विभिन्न तस्करीका घटनामा उनको प्रत्यक्ष संलग्नता रहँदै आएको थियो, तर हालसम्म उनलाई कुनै ठोस कारबाही भने गरिएको थिएन । 

अवैध धान तस्करी प्रकरणमा असई यादवलाई हालसम्म कुनै कारबाही नभएको विषयले सर्लाहीमा चर्चा पाएको छ । सोही अवैध धान तस्करी प्रकरणमा बिओपि भाँड्सरका तत्कालीन सशस्त्र प्रहरी इन्चार्ज सई संतोष शाहसहितको टोलीलाई मधेस सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका तत्कालीन बाहिनिपति डिआईजी कालिदास धौबजीले कारबाही गर्दै तत्काल गणमा तानेका थिए । 

भाँड्सर नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रत्यक्ष संलग्नतामा धान तस्करी व्यापक रूपमा भइरहेको प्रकाशित समाचारका साथै आवश्यक सूचना सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्याललाई प्राप्त भएपछि उनले गतवर्ष माघ २० गते उच्चस्तरीय टोली परिचालन गरी अवैध धान तस्करीलाई तत्काल नियन्त्रणमा लिन सफल भएका थिए । भने उच्चस्तरीय टोलीको नेतृत्व तत्कालीन डिआईजी कालिदास धौबजी आफैले गरेका थिए । उनि उक्त नाकाको स्थलगत निरीक्षक गर्दै सो तस्करी सम्बन्धमा प्रशस्तै तथ्य र प्रमाणहरु फेला पारेका थिए । 

तर सोही तस्करी प्रकरणमा प्रत्यक्ष संलग्नता देखिएका नेपाल प्रहरीका असई राजेश प्रसाद यादवलाई भने कुनै कारबाही गरिएको छैन । सोही प्रकरणमा तत्काल कारबाही हुनुपर्नेमा उल्टै बिबादास्पद असई यादवलाई प्रहरी चौकी भाँड्सरको इन्चार्जका रूपमा वर्तमान समयसम्म पनि कार्यरत रहन दिएकोले सुरक्षा निकायप्रतिको जनविश्वास खस्किएको स्थानीयहरुले बताएका छन् । 

स्रोतका अनुसार, असई यादवले सर्लाहीका पूर्व एसपी रविन्द्र बहादुर सिंहलाई मासिक रूपमा मोटो रकम बुझाउँदै आएकाले उनी संरक्षणमा रहँदै आएका थिए । भने यही बैशाख २३ गतेदेखि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा एसपी योगेन्द्र कुमार खड्काले नयाँ प्रमुखका रूपमा पदभार सम्हालेका छन् । तर एसपी खड्काको यस कारबाहीले सुरक्षाकर्मीको मिलेमतोमा सिमावर्ती क्षेत्रमा बढ्दो तस्करीमा अंकुश लाग्ने आशा गरिएको छ । 

जनतासंग प्रत्यक्ष सरोकार रहेका सर्लाही जिल्लाको विभिन्न सरकारी कार्यालयमा रहेको बेतिथि, विसंगति र सिमानाकामा हुने अबैध तस्करीका विषयमा निरन्तर खबरदारी गर्दै आएका स्थानीय पत्रकार एसपी यादवले प्रहरी चौकी भाँड्सरका बिबादास्पद इन्चार्ज असई राजेश प्रसाद यादवको बारेमा पटकपटक समाचार प्रकाशन गर्दै आएका थिए । पत्रकार यादवले तस्करीमा प्रहरीको संलग्नता सम्बन्धी तथ्य पनि सार्वजनिक गर्दै आएका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा भन्सार छलेर भारतीय सामग्रीहरु चिनी, तेल, चामल, मलखाद्य, कपडा, स्पेयर पार्टस्, खसी, कुखुरा र कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु नेपाल भित्रिने गरेको छ ।

भने तस्करहरुले नेपाल तर्फबाट गाईगोरु, मदिरा, सुपारी, मरिच, अलैंची र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ यस नाकाबाट चोरी निकासी गर्दै आएका छन । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।

प्रतिक्रिया