विद्यालयमै प्रधानाध्यापक कुटिएपछि एक युवक पक्राउ, निष्पक्ष छानबिन गर्ने नगरको प्रतिबद्धता

trinetraexpress


राधेश्याम कुशवाहा, बलरा, सर्लाही, १६ भदौ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यार्थीबीच भएको विवाद उग्ररूप लिएपछि प्रधानाध्यापक कुटिएको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। घटनापछि विद्यालयको शैक्षिक वातावरण प्रभावित बनेको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ।

विद्यालयमा सरसफाइ गराउने विषयलाई लिएर प्रधानाध्यापक वीरेन्द्र झा र विद्यार्थीबीच विवाद भएको र त्यसक्रममा प्रधानाध्यापकले एक छात्रामाथि गालीगलौज तथा दुव्र्यवहार गरेको आरोप सार्वजनिक भएपछि घटना उग्र बनेको बताइएको छ। उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

जिल्ला प्रहरी कार्यालय, मलंगवाका अनुसार विद्यार्थी र शिक्षकबीच उक्त विषयमा छलफल भइरहेका बेला प्रधानाध्यापक झामाथि कुटपिट भएको हो। घटनामा प्रधानाध्यापक झा सामान्य घाइते भएको र उहाँको निजी सवारीसाधनसमेत तोडफोड भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ निवासी २० वर्षीय अभिषेक कापडलाई पक्राउ गरेको जनाएको छ। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुनसक्ने भएकाले उनीहरूको पहिचान तथा भूमिकाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता वेदप्रसाद गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

घटनासम्बन्धी भिडियो तथा सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाइरहेको स्पष्ट पारेको छ।

विद्यालयलाई शिक्षा, अनुशासन र मर्यादाको केन्द्रका रूपमा लिइन्छ। तर विद्यालय परिसरमै प्रधानाध्यापक कुटिनु र निजी सवारीसाधन तोडफोड हुनुले विद्यालयको सुरक्षा तथा शैक्षिक वातावरणबारे प्रश्न उठेको छ।

छात्रामाथि प्रधानाध्यापकबाट वास्तवमै अमर्यादित व्यवहार भएको पुष्टि भएमा सम्बन्धित शिक्षक वा जिम्मेवार व्यक्तिमाथि कानुनी तथा संस्थागत प्रक्रियाबाट कारबाही हुनुपर्ने देखिन्छ। तर आरोपको सत्यतथ्य नखुल्दै भीड जम्मा भएर शिक्षक वा अन्य व्यक्तिमाथि कुटपिट गर्नु पनि कानुनसम्मत नहुने स्थानीयको भनाइ छ।

घटनामा विद्यार्थी मात्र नभई बाह्य व्यक्तिहरूको समेत संलग्नता रहेको आरोप सार्वजनिक भएकाले घटनाको सम्पूर्ण पक्षबारे निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ। घटनालाई राजनीतिक वा अन्य कुनै स्वार्थसँग जोडेर हेर्नुभन्दा प्रमाणका आधारमा वास्तविकता बाहिर ल्याउनुपर्ने स्थानीयको माग छ।

घटनाप्रति बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

नगरप्रमुख कुशवाहाले सामाजिक सञ्जालमार्फत प्रधानाध्यापक र विद्यार्थीबीचको विवादले उग्ररूप लिई प्रधानाध्यापकमाथि आक्रमण तथा उहाँको निजी सवारीसाधनमा तोडफोड भएको घटनालाई ‘अत्यन्त दुःखद, निन्दनीय र खेदजनक’ भनेका छन्।

विद्यालय शान्ति, अनुशासन र ज्ञानको पवित्र थलो भएको उल्लेख गर्दै नगरप्रमुख कुशवाहाले शिक्षकको मनोबल उच्च राख्दै विद्यार्थीका लागि सुरक्षित, मर्यादित र शान्तिपूर्ण शिक्षण–सिकाइको वातावरण कायम गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गर्न नगर शिक्षा समितिले छानबिन समिति गठन गर्ने उनले जानकारी दिएका छन्। छानबिन समितिको सुझाव तथा सिफारिसका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने नगरप्रमुख कुशवाहाको भनाइ छ।

नगरप्रमुख कुशवाहाले घटनापछि उत्पन्न अन्योल र असहज परिस्थितिलाई थप जटिल नबनाउन शिक्षक तथा विद्यार्थीलाई आग्रह गरेका छन्।

उनले विद्यालयको नियमित पठनपाठन सुचारु राख्न सम्पूर्ण शिक्षक तथा विद्यार्थीमा अपिल गर्दै विद्यालयमा शान्तिपूर्ण वातावरण निर्माणका लागि अभिभावक, शिक्षाप्रेमी, राजनीतिक दल तथा तिनका प्रतिनिधि, जनप्रतिनिधि र सम्पूर्ण सरोकारवालालाई संयम, सहकार्य र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

‘विद्यालय शान्तिको थलो हो, विवादको होइन; शिक्षा अवरुद्ध होइन, निरन्तर हुनुपर्छ’ भन्ने धारणा नगरप्रमुख कुशवाहाले सार्वजनिक गरेका छन्।

घटनाको एउटा पक्षमा प्रधानाध्यापकले छात्रामाथि दुव्र्यवहार गरेको आरोप छ भने अर्को पक्षमा प्रधानाध्यापकसहित शिक्षक तथा अन्य व्यक्तिमाथि कुटपिट भएको आरोप छ। त्यसैले घटनालाई एकतर्फी रूपमा निष्कर्षमा पु¥याउनुभन्दा दुवै पक्षका आरोप र घटनाक्रमको अनुसन्धान आवश्यक देखिन्छ।

छात्रामाथि दुव्र्यवहार भएको भए त्यसको कानुनी तथा संस्थागत प्रक्रियाबाट छानबिन हुनुपर्नेछ। त्यसैगरी प्रधानाध्यापकमाथि कुटपिट, सवारीसाधन तोडफोड तथा प्रहरीमाथि समेत दुव्र्यवहार भएको भए त्यसमा संलग्न व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही हुनुपर्ने देखिन्छ।

कसैलाई दोषी वा निर्दोष ठहर गर्ने अधिकार भीडलाई नभई सम्बन्धित कानुनी निकायलाई हुने भएकाले घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धानबाट मात्रै वास्तविकता बाहिर ल्याउन सकिने स्थानीयको भनाइ छ।

घटनापछि विद्यालयको नियमित पठनपाठन तथा शैक्षिक वातावरणलाई सामान्य अवस्थामा फर्काउनु नगरपालिकासहित विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायका लागि चुनौती बनेको छ।शिक्षकले विद्यार्थीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने र विद्यार्थीले पनि शिक्षकप्रति मर्यादा कायम राख्नुपर्ने भएकाले दुवै पक्षबाट कानुन तथा अनुशासनको सीमा उल्लंघन हुन नदिन आवश्यक पहल गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।

मानव अधिकारकर्मी मुकेश मिश्रका अनुसार “विद्यार्थीमाथि हुने दुव्र्यवहार गम्भीर अपराध हो। दोषी प्राचार्य वा शिक्षकलाई कानुनबमोजिम हदैसम्मको कडा कारबाही हुनुपर्छ। तर, त्यसकै नाममा कानुन हातमा लिएर भीड–न्याय गर्ने, कुटपिट गर्ने तथा सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड गर्ने अराजक गतिविधि पनि उत्तिकै दण्डनीय छन्।”

मानव अधिकारकर्मी मिश्रले थपे, “यस्ता गतिविधिले न्याय स्थापित गर्नुको सट्टा विधिको शासन र वास्तविक न्याय प्राप्त गर्ने मार्गलाई नै कमजोर बनाउँछ। दोषीलाई कानुनी प्रक्रियामार्फत कारबाही गरिनुपर्छ र कसैले पनि कानुन हातमा लिनु हुँदैन।”

शिक्षा विकास तथा समन्वय एकाइ, सर्लाहीका शाखा अधिकृत सुनिल कुशवाहाले प्रधानाध्यापक वीरेन्द्र झामाथि भएको भौतिक आक्रमण तथा निजी सवारीसाधनमा गरिएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।

कुशवाहाले विद्यार्थीमाथि शिक्षक वा प्रधानाध्यापकबाट अनुचित व्यवहार भएको भए त्यसको निष्पक्ष छानबिन गरी कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने बताएका छन्। आरोप वा आक्रोशका आधारमा विद्यालय परिसरमै शिक्षक तथा प्रधानाध्यापकमाथि आक्रमण गर्नु र निजी सम्पत्तिमा तोडफोड गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ।

उनले घटनालाई केवल आक्रमण र तोडफोडको घटनाका रूपमा मात्र नहेरी त्यसको पछाडि रहेका कारण, परिस्थिति, असन्तुष्टि, सम्भावित उक्साहट तथा सम्बन्धित पक्षहरूको भूमिकासमेत गहिराइमा पुगेर अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।

विद्यार्थीमा बढ्दो आक्रोश, विद्यालय प्रशासन, शिक्षक–विद्यार्थी सम्बन्ध, अभिभावकको भूमिका तथा संवादको अभावलगायतका पक्षलाई समेत घटनाको पृष्ठभूमिका रूपमा अध्ययन गर्नुपर्ने उनले बताए।

‘न त घटनालाई एकपक्षीय रूपमा हेर्नु उचित हुन्छ, न त दोषीलाई जोगाउने गरी थामथुम पार्नु नै,’ कुशवाहाले भने, ‘सत्य जहाँ छ, त्यहाँ पुगौँ; दोष जहाँ छ, त्यहीँ औँला उठाऔँ। घटनाको चुरोसम्म पुग्ने गरी निष्पक्ष, तथ्यपरक र विश्वसनीय छानबिन गरिनुपर्छ।’

कुशवाहाले दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवालाबीच विश्वास, संवाद, सहकार्य र पारस्परिक सम्मानको वातावरण निर्माण गर्न आवश्यक रहेको बताए।

विद्यार्थीको अधिकार र सम्मानसँगै शिक्षकको सम्मान, सुरक्षा र गरिमालाई पनि समान महत्व दिनुपर्नेमा जोड दिँदै कुशवाहाले आफू कुनै पक्ष वा विपक्षमा नभई सत्य, न्याय, विधिको शासन र शिक्षालयको मर्यादाको पक्षमा रहेको स्पष्ट पारेका छन्।

अहिले प्रहरीले कुटपिट घटनामा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने नगरपालिकाले पनि छुट्टै छानबिन समिति गठन गर्ने जनाएको छ। 

अब प्रहरी अनुसन्धान र नगरपालिकाको छानबिनबाट घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा आरोपहरूको सत्यतथ्य कति हो भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया