आरजु राणामाथि छानबिन गर्दा हटाइएका केसी पुनः सीआईबी प्रमुखमा नियुक्त

newsdesk

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुखमा अतिरिक्त महानिरीक्षक ९एआईजी० डा। मनोजकुमार केसी पुनः सरुवा भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाल प्रहरी प्रधान कार्यालयअन्तर्गत प्रदेश समन्वय विभागमा कार्यरत केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। यसअघि सीआईबी प्रमुख रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि पद रिक्त थियो।

भुटानी शरणार्थी प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्रीसमेत रहेकी कांग्रेस नेतृ डा। आरजु राणाविरुद्ध छानबिन अघि बढाएपछि तत्कालीन सरकारले केसीलाई प्रभावहीन मानिने प्रदेश समन्वय विभागमा सरुवा गरेको थियो। एआईजी बढुवामा समेत उनलाई पछि पारिएको थियो।

केसीलाई फेरि महत्त्वपूर्ण जिम्मेवारी दिइनुले सरकारको सन्देशसहितको निर्णयका रूपमा लिइएको छ। सुरक्षा निकायसँग नजिक विश्लेषकहरूले ठूला घोटालाका मुद्दामा सक्रिय मानिएका अधिकारीलाई पुनः सीआईबीमा ल्याउनुले आगामी दिनमा संवेदनशील मुद्दामा छानबिन सक्रिय हुने संकेत देखिएको टिप्पणी गरेका छन्।

हाल नेपाल प्रहरीमा चार एआईजी रहेका छन्। केही दिनअघि मात्र मानव स्रोत विकास विभाग प्रमुख दानबहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रमुखमा सरुवा गरिएको थियो।



प्रतिक्रिया