काठमाडौँ — पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी गरी निकालिएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।
यसअघि साउन २३ गते चितामा जलिरहेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने बनेपाका गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए। उनीहरूले काभ्रेको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव जलाउने क्रममा हड्डी निकालेर ५ सय रुपैयाँमा बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए र एउटा शव जलाएबापत पशुपति विकास कोषबाट १५ सय रुपैयाँ लिँदै आएका थिए।
प्रहरीले ठाकुरको साथबाट प्लास्टिकमा प्याक गरिएको हड्डीको धुलो र खरानी बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त गौशालाले गरिरहेको छ।