सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा बुधवारदेखि मेयर कप क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ।
धनकौल गाउँपालिकाको विशेष पहलमा आयोजित प्रतियोगिता गाउँकै चिनि मिलको क्रिकेट मैदानमा सञ्चालन भइरहेको हो।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंह र धनकौल गाउँपालिकाका अध्यक्ष रामअसरे साहले संयुक्त रुपमा गरेका हुन्।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा अध्यक्ष साहले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए।
उनले खेलाडीहरूको प्रतिभा उजागर गर्न र खेलमैत्री वातावरण सृजना गर्न आवश्यक पूर्वाधार विकासमा पालिकाले प्राथमिकता दिने बताए।
यस वर्षको मेयर कपमा धनकौल गाउँपालिकाका आठवटा टोलबीच प्रतिस्पर्धा हुनेछ।
आज सम्पन्न उद्घाटन खेलमा वडा नं. ५ हरकठवाले वडा नं. १ शेखवनालाई ६७ रनले पराजित गरेको छ।
प्रतियोगिता कार्तिक १२ गतेसम्म चल्नेछ भने यसले खेलप्रेमीहरूमा उत्साह थपेको छ। खेल हेर्नका लागि स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
उद्घाटन समारोहमा वडा नं. १ का वडा अध्यक्ष गौरी महतो, वडा नं. २ का रामबहादुर सहनी, वडा नं. ४ का नरेन्द्र राय, वडा नं. ६ का किशोरी राय, वडा नं. ७ का रामलखन राय, शिक्षा शाखा प्रमुख युक्तिराम, नेपाली कांग्रेसका युवा नेता दीपेन्द्र साह लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिती रहेको थियो।
६ कार्तिक २०८२, बिहिबार ०७:५२ मा प्रकाशित