मलंगवा, बैशाख २९, सर्लाही जिल्लाको बलरा नगरपालिका–८ स्थित गडहियामा रहेको मुस्लिम समुदायका लागि अत्यन्तै महत्वपूर्ण मानिने कब्रगाह (कब्रस्थान) को सुरक्षा तथा संरक्षणका लागि बाउन्ड्रीवाल (घेराबेरा) निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
सोमबार आयोजित एक विशेष समारोहका बीच संघीय संसद्का पूर्वसदस्य तथा संविधानसभा सदस्य शिवपुजन राय र बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले संयुक्त रूपमा शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन्।
उक्त कब्रगाह करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको छ। धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिने यस स्थानको संरक्षण र व्यवस्थापनको आवश्यकतालाई मध्यनजर गर्दै बलरा नगरपालिकाले चालु आर्थिक वर्षमा बाउन्ड्रीवाल निर्माणका लागि रु १० लाखको बजेट विनियोजन गरेको नगरप्रमुख कुशवाहाले जानकारी दिए।
शिलान्यास कार्यक्रमका क्रममा नगरप्रमुख कुशवाहाले भने, “नगरपालिका सबै धर्म, जाति र समुदायको सम्मान गर्दै सबैको सहभागिता र सहकार्यमा समृद्ध बलरा निर्माणतर्फ अघि बढिरहेको छ। हामी प्रत्येक नागरिकको धार्मिक भावनाको सम्मान गर्छौं, र सहअस्तित्वको भावना अझ बलियो बनाउन प्रतिबद्ध छौं।”
निर्माण समितिका अनुसार बाउन्ड्रीवाल निर्माण कार्य चालु आर्थिक वर्षभित्र नै सम्पन्न गरिनेछ। समितिले गुणस्तरीय निर्माण तथा समयमै कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय मुस्लिम समुदायका अगुवाहरुले कब्रगाह संरक्षणतर्फ नगरपालिकाले चासो देखाएकोमा धन्यवाद दिँदै बाउन्ड्रीवाल निर्माणले धार्मिक स्थलको सुरक्षा र मर्यादा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, मुस्लिम समुदायका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।