काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई हटाइएपछि सहसचिव ईश्वरराज पौडेललाई नयाँ सीडीओ नियुक्त गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रीस्तरीय निर्णयअनुसार बुधबार रिजाललाई मन्त्रालयमा तान्दै पौडेललाई काठमाडौंको सीडीओको जिम्मेवारी दिइएको हो। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरेर ल्याइसकेको थियो।
पौडेल करिब आठ वर्षअघि सुन तस्करी छानबिन समितिको संयोजक बनेर चर्चामा आएका थिए। उनको नेतृत्वमा भएको अनुसन्धानपछि कुख्यात सुन तस्कर ‘गोरे’ पक्राउ परेका थिए।
रिजाल भने तत्कालीन गृहमन्त्री रमेश लेखकका निकट मानिएका पात्र हुन्। लेखकको कार्यकालमा लामो समय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका रिजाललाई अन्तिम समयमा काठमाडौंको सीडीओ बनाइएको थियो। तर, उनले जिम्मेवारी सम्हालेको १५ दिनमै जेनजी आन्दोलन चर्किएको थियो।
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा निर्णायक मानिने सीडीओको भूमिकामा रहेर सुरक्षा व्यवस्थित गर्न नसकेको र आन्दोलनका क्रममा ७२ जनाको मृत्यु हुनुका साथै संसद्, सिंहदरबार, अदालत र प्रहरी कार्यालयहरू ध्वस्त हुन पुगेपछि रिजालको चौतर्फी आलोचना भएको थियो।
यससँगै काठमाडौंको सुरक्षा संयन्त्रमा नयाँ नेतृत्व आउने भएपछि आन्दोलनपछिको व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ।