बलरा नगरप्रमुख कुशवाहाद्वारा उखु किसान आन्दोलनलाई पूर्ण समर्थन

newsdesk

काठमाडौं, भाद्र ९। माइतीघरमा जारी उखु किसान आन्दोलनप्रति बलरा नगरपालिका, सर्लाहीका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले ऐक्यबद्धता जनाउँदै सक्रिय साथ र सहयोग रहने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

आन्दोलनको दोस्रो दिन काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुँदै नगरप्रमुख कुशवाहाले किसानको पीडा राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए।

 “किसान देशको मेरुदण्ड हुन्। उनीहरूको हकअधिकार र न्यायोचित माग सुन्ने, बुझ्ने र समाधान गर्ने दायित्व राज्यको हो। किसानलाई ओझेलमा राखेर देश समृद्ध हुन सक्दैन, त्यसैले बलरा नगरपालिकाको तर्फबाट हामी आन्दोलनलाई पूर्ण समर्थन गर्दछौं,” कुशवाहाले भने।

उनले उखु किसान आन्दोलनलाई सबल र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

 “किसानको माग अन्तिम निष्कर्षमा नपुगेसम्म हाम्रो सक्रिय साथ, सहयोग र सहभागिता रहनेछ,” भन्दै उनले सम्पूर्ण किसान र आन्दोलनमा साथ दिने समर्थकहरूलाई हार्दिक आभार व्यक्त  गरे।

नगरप्रमुख कुशवाहाले किसानहरूको सहभागितामै विभिन्न बालीहरूको मूल्य निर्धारण गर्नुपर्ने र वर्षैपिच्छे आन्दोलन गर्न नपर्ने वातावरण बनाउन सरकारलाई आग्रह पनि गरे।


बलरा नगरपालिकाले किसान आन्दोलनप्रति देखाएको यो स्पष्ट समर्थनले देशभरका किसानहरूलाई थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया