नेपाल पत्रकार महासंघ सर्लाहीद्वारा ७१औं स्थापना दिवसमा आफ्नै कार्यालय स्थापना

newsdesk


मलंगवा, सर्लाही — नेपाल पत्रकार महासंघ सर्लाही शाखाले ७१औं स्थापना दिवसको अवसर पारेर आफ्नै कार्यालय स्थापना गर्दै कार्यक्रम आयोजना गरेको छ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शाखाले कार्यालय स्थापना गरी संस्थागत सुदृढीकरणतर्फ महत्वपूर्ण कदम चालेको जनाएको छ।

कार्यक्रमका वक्ताहरूले पत्रकारिताको बदलिँदो परिवेशमा महासंघको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन महासंघ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे।

शाखाले कार्यालय स्थापना भएसँगै पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता विकास तथा अधिकारका विषयमा थप सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, स्थानीय स्तरमा पत्रकारिताको विकास र सुदृढीकरणका लागि सहकार्य र समन्वयलाई प्राथमिकता दिने पनि बताइएको छ।

कार्यक्रमले पत्रकारहरूको एकता, पेशागत मर्यादा र संस्थागत मजबुतीको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा कविलासी नगरपालिकाकी उपमेयर पुनम कर्ण, महासंघका पूर्व अध्यक्ष टंक क्षेत्री, विश्वनाथ ठाकुर लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष ओम प्रकाश ठाकुरले गरेका थिए भने सञ्चालन सचिव सोम दियालीले गरेका थिए। कार्यक्रममा महासंघका पदाधिकारी, कार्यसमिति सदस्य तथा जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया