प्रादेशिक अस्पताल मलंगवामा डा. सचिन यादवको नेतृत्वमा एकै सातामा ७ जटिल सिजेरियन, सरकारी अस्पतालको स्तरीय सेवा प्रति जनविश्वास बढ्दो

newsdesk


सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवाले पछिल्लो समय सुरक्षित मातृत्व सेवाको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। 

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सचिन यादवको नेतृत्वमा अस्पतालले नियमित रूपमा निशुल्क सिजेरियन शल्यक्रिया, सुरक्षित गर्भपतन, परिवार नियोजन लगायतका सेवा प्रदान गर्दै आएको छ।


अस्पतालका अनुसार विगत एक वर्षको अवधिमा मात्रै १२०० भन्दा बढी सिजेरियन शल्यक्रिया सम्पन्न भइसकेका छन्। तीमध्ये करिब ५० भन्दा बढी अत्यन्त जटिल र जोखिमयुक्त अवस्थामा गरिएका हुन्।


आज शनिवार विदाको दिन समेत डा. यादवको नेतृत्वमा दुईजना महिलाको जटिल अवस्थाका शल्यक्रियाबाट चार जीवन – दुई आमा र दुई नवजात शिशुको रक्षा गरिएको छ । 

सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा समयमै गरिएको चिकित्सकीय शल्यक्रिया निर्णयका कारण दुई नवजात शिशुको ज्यान जोगिएको छ। शनिबार बिहान एकै दिन आएको दुई जटिल प्रसूति केसमा डा. सचिन यादव नेतृत्वको टोलीले आपत्कालीन शल्यक्रियाबाट आमासहित शिशुहरूको सफल जन्म गराएका हुन्।


पहिलो केसमा ४२ हप्ता ४ दिनकी गर्भवती महिलामा गाढा मिकोनियम र भ्रूणको मुटुको गति कम देखिएपछि तत्काल शल्यक्रियाको निर्णय गरिएको थियो। शल्यकक्षमा भ्रूणको घाँटीमा दुई चक्कर नाल बेरिएको र गम्भीर क्यापुट भेटिएको भए पनि ३५०० ग्रामको छोरीको सुरक्षित जन्म भएको अस्पतालले जानकारी दिएको छ। जन्मपश्चात शिशुको एप्गर स्कोर ४÷१० र ७÷१० रहेको थियो।


दोस्रो केसमा ४० हप्ताको गर्भवती (न्२ए१ी०) महिलामा दोस्रो चरणको प्रसवमा टाउको नझरेको अवस्था देखिएको थियो। पहिले एक नवजात गुमाएकी ती आमाको केस पनि जटिल रहेकाले तुरुन्तै शल्यक्रिया गरियो। चिकित्सकहरूको सक्रियतामा ३५०० ग्रामको छोराको जन्म भयो। शिशुको एप्गर स्कोर ५÷१० र ७÷१० रहेको थियो।


“समयमै निर्णय र समन्वयित कामको परिणामस्वरूप दुईवटै शिशुको जीवन बचाउन सफल भयौं,” डा. सचिन यादवले बताए।


शल्य चिकित्सक डा. यादवसँगै डा. उपदेश शाह (गिग्यासु), स्क्रब नर्स नीलम कुमारी यादव, एनेस्थेसिया निरीक्षक राकेश यादव र शल्यकक्ष सहायक मीना भुजेलको टोलीले यो सफल शल्यक्रिया सम्पन्न गरेको हो।


सर्लाहीको प्रादेशिक अस्पताल मलंगवाले सर्लाही जिल्लाको एकमात्र मातृ तथा नवजात  सेवा दिने केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको अस्पताल प्रशासनको दाबी छ। अस्पतालमा दैनिक २–३ आपत्कालीन शल्यक्रिया हुने गरेको छ।

“हामी सधैं तत्पर छौं — सुरक्षित सुत्केरी सेवा दिन र जीवन रक्षा गर्न,” अस्पताल स्रोतले भन्यो।

त्यस्तै, यही साता केही दिनअगाडी तीन वटा जटिल सिजेरियन सफलतापूर्वक सम्पन्न गरिएका थिए।

पहिलो केसमा, प्रि–एक्लेम्प्सिया र म्याक्रोसोमिया (अत्यधिक भ्रूण तौल) भएको महिलाबाट ३६५० ग्राम तौलको जीवित शिशुको जन्म भयो।

दोस्रो केसमा, तेस्रोपटक सिजेरियन गरिएकी महिलाले ३४५० ग्रामको छोरालाई जन्म दिइन्।

तेस्रो केसमा, गर्भकालीन मधुमेह भएकी महिलाबाट ३२६० ग्रामको छोरी जन्मिइन्।

प्रादेशिक अस्पताल मलंगवामा डा. सचिन यादवको नेतृत्वमा सिजेरियन (शल्यक्रिया) सेवा सुरु भएपछि सर्लाही जिल्लाका आम नागरिकलाई निजी क्लिनिकमा महँगो शुल्क तिर्ने वा जिल्ला बाहिर सिजेरियनका लागि जानुपर्ने बाध्यता अन्त्य भएको छ।

डा. यादवका अनुसार, अस्पतालको विशेषज्ञ टिमले अहिले मलंगवामै जटिल (क्रिटिकल) सिजेरियन शल्यक्रिया गर्न थालेको छ। यसअघि विरगञ्ज वा जनकपुर जानुपर्ने अवस्था रहे पनि अहिले स्थानीयस्तरमै सेवा उपलब्ध भएपछि धेरै महिलाले सहज रूपमा उपचार पाउन थालेका छन्।


“अब सिजेरियनका लागि निजी क्लिनिक वा जिल्ला बाहिर जानु पर्दैन, हामीले प्रादेशिक अस्पतालमा पूर्ण रूपमा निशुल्क सिजेरियन सेवा सुरु गरेका छौं,” डा. यादवले जानकारी दिए।


उनले प्रादेशिक अस्पतालले साताको विदा पर्ने शनिवारका दिन पनि प्रसूति सेवा तथा आपतकालीन शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिए। प्रादेशिक अस्पतालको यो पहलले सर्लाहीका आर्थिक रूपमा कमजोर वर्गका गर्भवती महिलालाई ठूलो राहत मिलेको छ।


सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा स्त्री तथा प्रसुति रोग विशेषज्ञको जिम्मेवारीमा डा. सचिन यादवको आएपछि यो सेवामा उदाहरणीय बनेका छन । मधेसका सरकारी अस्पतालका खस्कदै गएको गुणस्तरलाई चुनौती दिदै प्रादेशिक अस्पताल मलंगवाले स्त्री तथा प्रसुति सेवा उदाहरणीय कार्य गर्न सफल भएका छन । 

सरकारी अस्पतालमा गुणस्तीय उपचार हुदैन भनी आम बुझाईलाई उल्टियाउदै प्रादेशिक अस्पतालका प्रसुति विभागले उल्लेखनिय सेवा दिदै सर्वसाधारणका विश्वास जित्न सफल भएका छन । 

🔺 १२०० भन्दा बढी सिजेरियनः तथ्य आफै बोल्छ

डा. सचिन यादव अस्पतालमा कार्यरत भएदेखि


२०८० भदौदेखि २०८१ असारसम्मः ५८८ सिजेरियन


२०७८ श्रावणदेखि हालसम्मः ६००+ सिजेरियन


५० भन्दा बढी जटिल सिजेरियन केसहरू सफल


दर्जनौं hysterectomy, बन्ध्याकरण, सुरक्षित गर्भपतन सेवा


IUCD, Implants, Depo पुरुष–महिला परिवार नियोजन सेवामा उल्लेखनीय प्रगति


🏥 १०० शय्यामा स्तरोन्नति, ८ विशेषज्ञसहित सेवा विस्तार

हालै अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरिएको छ। अहिले अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सक सहित ३२ जना मेडिकल अधिकृत कार्यरत छन्।


विशेषज्ञ सेवाहरूमा निम्न समावेश छन्ः


जेनरल मेडिसिन


जेनरल सर्जरी


अर्थोपेडिक


स्त्री तथा प्रसूति


बाल रोग


छाला रोग


मानसिक रोग


दन्त तथा एनेस्थेसिया


👩⚕️ सुरक्षित गर्भपतन, परिवार नियोजनमा विशेष पहलकदमी

अस्पतालले हाल २८ हप्ता (सात महिना) सम्मको सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको छ। यो सेवा नेपाल सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखा, टेकुमा सुचिकृत सेवा हो, जुन सर्लाही जिल्लामा जनकपुर वा वीरगञ्ज बाहेक केवल मलंगवामै उपलब्ध छ।


साथै, अस्पतालमा महिला तथा पुरुष बन्ध्याकरण, इम्प्लान्ट, IUCD, डिपो इन्जेक्सन लगायतका परिवार नियोजन सेवा पनि नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।


🚺 लिंगमैत्री सेवा र OCMC कक्ष

प्रादेशिक अस्पताल मलंगवामा अहिले लैंगिक हिंसा पीडित महिलाहरूका लागि One Stop Crisis Management (OCMC) सञ्चालनमा छ, जसले यौनजन्य हिंसा, घरेलु हिंसा, तथा आपतकालीन अवस्थामा पीडितलाई तुरुन्त सेवा र परामर्श प्रदान गर्दछ।


प्रादेशिक अस्पताल मलंगवा अहिले सर्लाही जिल्लामात्र होइन, सम्पूर्ण मधेश प्रदेशमा मातृ तथा नवजात सेवाको उदाहरणीय केन्द्रको रूपमा विकास हुँदै गएको छ।

निशुल्क सिजेरियन सेवा, सुरक्षित गर्भपतन, प्रशिक्षित विशेषज्ञ, र जनमैत्री पहुँचले गर्दा सर्वसाधारणले पनि अब निजी क्लिनिक छोडेर सरकारी अस्पतालमा भरोसा गर्न थालेका छन्।


पछिल्लो समय निजि क्लिनिकको तुलनामा सरकारी अस्पतालमाथि जनताको विश्वास बढ्दो छ। सामान्यदेखि जटिल प्रसूति केसमा समेत उपचारका लागि मानिसहरू अब मलंगवा अस्पताल धाउन थालेका छन्। डा. यादव भन्छन्,

“प्रत्येक सुरक्षित जन्म, आमाको मुस्कान र शिशुको चिच्याहट हाम्रो सफलताको प्रमाण हो।”


💉 सेवा विस्तारमा चुनौती पनि

डा. यादवका अनुसार पहिले महिलाहरूमा आङ खस्ने (युटेरिन प्रोल्याप्स) शल्यक्रियाका लागि प्रदेश सरकारले वार्षिक २० लाख रुपैयाँको बजेट दिने गथ्र्यो। तर विगत दुई आर्थिक वर्षदेखि उक्त बजेट नआउँदा सेवा प्रवाहमा कठिनाइ भएको गुनासो उनले गरे।


“हामीले स्वास्थ बीमा तथा सामाजिक सुरक्षा इकाइमार्फत यो सेवा निःशुल्क रूपमा निरन्तर दिइरहेका छौं,” डा. यादवले भने, “यस वर्ष मात्रै पाँच–सात जनालाई युटेरिन प्रोल्याप्सको सफल सर्जरी गरिसकेका छौं।”


प्रतिक्रिया