जनकपुर, १० फागुन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको कार्यशैलीको कारण पछिल्लो समय घुमुवा प्रहरी मार्फत सञ्चालन भइरहेको कथित असुली नेटवर्क, तस्करी सेटिङ र आन्तरिक शक्ति दुरुपयोगका आरोपबाट यतिखेर सबैको ध्यान तानिएको छ ।
प्रहरी संगठन भित्रकै स्रोतका अनुसार प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका निकट मानिएका बरिष्ठ सई गोपाल थापा मगरको नेतृत्वमा आठ जिल्लामा फैलिएको असुली नेटवर्कको संजालको संरचना यतिखेर सक्रिय रहेपछि त्यस्ता नेटवर्क र सेटिङको आरोपबाट सबैको ध्यान तानिएको हो ।
स्रोतका अनुसार धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी जिल्लामा सादा पोशाकका प्रहरी परिचालन गरी तस्कर, व्यापारी तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूसँग ‘दररेट’ अनुसार मासिक रकम असुल्ने शिष्टम बनाइएको छ । सप्तरी देखि लिएर वीरगंजसम्मका सीमावर्ती नाकाबाट तस्करी प्रहरीकै सेटिङमा निर्बाध रूपमा भइरहेको र त्यसको कमाण्ड थापा मगरले सम्हालिरहेको गम्भीर आरोप श्रोतले लगाएको छ ।
प्रहरी श्रोतका अनुसार, सीमा क्षेत्रमा खटिएका युनिट कमाण्डरहरूलाई समेत रकम बुझाउन दबाब दिइने, नमाने सरुवा वा विभागीय कारबाहीको डर देखाइने गरिन्छ । रकम बुझाउनेलाई भने पुनः आकर्षक स्थानमै राख्ने र नमिल्नेलाई हटाउने अभ्यासले संगठन भित्रको गहिरो असन्तोष बढदै गएको छ ।
यता, भारततर्फ सर्लाही सँग जोडिएको सोनवर्सा र धनुषासँग जोडिएको जयनगर क्षेत्रमा भारतीय एसएसबीले हालै ठूलो परिमाणमा तस्करीको चाइनिज स्याउ नियन्त्रणमा लिएपछि कथित सेटिङ सार्वजनिक भएको स्रोतको दाबी छ । यस प्रकारको प्रकरणले मधेश प्रहरी भित्रै गुटबन्दी चलिरहेको नेटवर्कका रहस्य बाहिर सार्वजनिक हुन थालेको छ । घुमुवा थापा मगरमाथि जनकपुर, महोत्तरी, सर्लाही र वीरगंज क्षेत्रका केही ठूला व्यापारीहरूसँग मिलेमतोमा सेटिङ सञ्चालन गरेको आरोप समेत लागेको छ । यद्यपि यी आरोपहरूबारे आधिकारिक रुपमा पुष्टि भने भइसकेको छैन ।
यसैबीच, विवादका कारण केही समयका लागि प्रहरी प्रधान कार्यालय तानिएका थापा मगर पुनः मधेशमै काजमा फर्किन सफल भएको घटनाले थप प्रश्न सृजना गरेको छ । संगठन भित्र ‘विवादित कर्मचारीलाई किन पुनः संवेदनशील जिम्मेवारी ?’ भन्ने प्रश्न उठेको छ ।
अर्कोतर्फ, संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत सई जयलाल प्रसाद यादव माथि पनि सिरहा, सप्तरी र धनुषा क्षेत्रमा अवैध असुलीमा संलग्न रहेको आरोप लागेको छ । उनी लामो समयदेखि जनकपुरमै कार्यरत रहँदै तस्कर, व्यापारी र हुण्डी कारोबारीसँग बलियो पहुँच बनाएको स्रोतको दाबी छ ।
यस्तै विगत लामो समय देखि विरगञ्जमा बस्दै आएका बरिष्ठ साई लोकेन्द्र पन्डित, वारामा वरिष्ठ सई दिपक बस्नेत, महोत्तरीमा सहायक हवलदार राकेश यादव भन्ने कविर यादव घुमुवाको रुपमा कार्यरत रही अबैध असुली एवं तस्करीको सेटिङबाट उठेका रकम प्रधान कार्यालय सम्म पुर्याउने गर्दा यीनीहरुलाई त्यहीबाट संरक्षण प्राप्त भएको ति श्रोतको दाबी छ ।
हिजो मात्रै सर्लाहीबाट प्रहरी प्रमुखको भागमा पर्ने पाँच लाख लिएर वरिष्ठ हवलदार महिन्द्र महतो काठमाडौ तर्फ गएको छ भने सर्लाही पर्सा प्रहरी चौकीका वरिष्ठ सई रोशन अधिकारीले प्रदेश प्रमुख सहित उक्त कार्यालयको विभिन्न ओहदाका अधिकारीको नाममा प्रत्येक महिना ८ लाख रकम बुझाउन गरिएको श्रोतका दाबी गरे ।
प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन महाशाखामा यी विषयमा दर्जनौ उजुरी परे पनि हालसम्म औपचारिक छानबिन अघि नबढेको बुझिन्छ । यसले संगठन भित्र ‘उजुरी गरे पनि कारबाही हुँदैन’ भन्ने कार्यबाट यस्ता अबैध नेटवर्क संचालन गर्नेहरुको यतिखेर मधेशप्रदेशमा रजगज चलिरहेको बताइन्छ ।
विज्ञहरूका अनुसार यो विवाद केवल व्यक्तिमा सीमित नभई घुमुवा प्रणाली, सिभिल परिचालन र अधिकार वितरणमा पारदर्शिता अभावको संकेत हो । यदि समयमै निष्पक्ष छानबिन र सुधार नगरिए मधेश प्रहरी प्रतिको सार्वजनिक विश्वासमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
यस्ता गम्भीर आरोपमाथि निष्पक्ष छानबिन कहिले हुन्छ ? दोषी देखिए कडा कारबाही हुन्छ कि फेरी पनि यस्ता प्रकरणहरू दबाइने गरिने परिपाटी कायमै रहने हो त्यो आउदो समयले नै देखाउने छ ।
source:-TeraiTop