बसबरिया गाउँपालिकामा ३ हजार घरपरिवारलाई सुधारिएको चुलो वितरण

newsdesk

सर्लाही । मधेश प्रदेशका सांसद बिरेन्द्र सिंह ले एका नेपाल र वाग्मती सेवा समाज को सहयोगमा सर्लाही जिल्लाको बसबरिया गाउँपालिका का ३ हजार घरपरिवारलाई सुधारिएको चुलो वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रमलाई स्थानीयवासीहरूले उत्साहका साथ स्वागत गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै सांसद सिंहले परम्परागत दाउरा तथा धुवाँयुक्त चुल्होको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै अब आधुनिक तथा वातावरणमैत्री प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले सुधारिएको चुलोको प्रयोगले घरभित्र हुने धुवाँ प्रदूषण कम हुनुका साथै महिलाहरूको स्वास्थ्य संरक्षणमा विशेष सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले स्वच्छ ऊर्जा आजको आवश्यकता मात्र नभई भावी पुस्ताका लागि पनि महत्वपूर्ण आधार भएको उल्लेख गर्दै ग्रामीण समुदायसम्म आधुनिक प्रविधिको पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एका नेपाल तथा वाग्मती सेवा समाजका प्रतिनिधिहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएका थिए। सुधारिएको चुलो वितरणले दाउराको अत्यधिक प्रयोग घटाई वन संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय जनप्रतिनिधि तथा सहभागीहरूले विपन्न तथा मध्यमवर्गीय परिवारलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले दैनिक जीवन सहज बनाउने बताएका छन्। स्थानीय महिलाहरूले खाना पकाउने काम सहज, छिटो तथा सुरक्षित हुने भन्दै कार्यक्रमप्रति खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्थाहरूले आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया