प्रादेशिक अस्पताल मलंगवामा ३ जना महिलाको जटिल सिजेरियन सफल

newsdesk

उच्च जोखिममा रहेका सबै केसहरूमा आमा र नवजातको जीवन रक्षा

सर्लाही, २२ जेठ । सुत्केरी व्यथा लागेर सर्लाही सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचारको लागि आएका तीन महिलालाई जटिल र उच्च जोखिमयुक्त अवस्थामा सिजेरियन अर्थात सफल शैल्यक्रिया मार्फत आमा र नवजात शिशुको जीवन रक्षा गरिएको छ ।

प्रदेश अस्पतालले एकै दिन तीनवटा जटिल र उच्च जोखिमयुक्त सिजेरियन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्दै मातृ तथा नवजात स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार, तीनैजनालाई शल्यक्रिया गरेर आमा तथा नवजात शिशुहरुको जीवन रक्षा गर्दा अहिले उनीहरु स्वास्थ्य अवस्थामा रहेको बताइएको छ ।

पहिलो जटिल केसः प्रि–एक्लेम्प्सिया र म्याक्रोसोमिया

२२ वर्षीया महिलामा प्रि–एक्लेम्प्सिया (रक्तचाप सम्बन्धी जटिलता) र भ्रुणको असामान्य तौल (म्याक्रोसोमिया) देखिएको थियो । ४० हप्ता ६ दिनको गर्भावस्थापछि ३६५० ग्राम तौलको जीवित छोराको सुरक्षित जन्म गराइएको छ ।

दोस्रो केसः तेस्रो पटक सिजेरियन

२५ वर्षीया महिलाको यसअघि दुईपटक सिजेरियनबाट प्रसूति भइसकेको थियो । पुनः तेश्रो पटक सफल सर्जरीको माध्यमबाट ३४५० ग्राम तौल भएको छोरालाई  सुरक्षित जन्म दिइएको छ ।

तेस्रो केसः डायबेटिज भएका गर्भवती महिला

२४ वर्षीया महिलाको पहिले पनि सिजेरियन गरिएको थियो । उनी गर्भकालीन अवस्थामै मधुमेह (गेस्टेशनल डायबेटिज) को उपचारमा थिइन । चिकित्सकहरूको टोलीले सावधानी पूर्वक सर्जरी गर्दै ३२६० ग्राम तौल भएकी छोरीको जन्म गराउन सफल भएको छ ।

उच्च जोखिममा रहेका तीनवटा केस सफलतापूर्वक सम्पन्न गर्न सर्लाहीमा सुरक्षित मातृत्व सेवाको एक महत्वपूर्ण संकेत हो, शल्यक्रिया वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सचिन यादवले भने । “हामी सबै आमाहरु र नवजात शिशुहरूको स्वास्थ्य प्रति प्रतिबद्ध छौं ।”

तीनवटै शल्यक्रिया वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. यादवको नेतृत्वमा सम्पन्न भएको छ । टोलीमा स्क्रब नर्स एसए पितुल, रिंकु यादव, बिना यादव, तथा एनेस्थेसिया निरीक्षक राकेश यादव सहितका व्यक्तिहरुको टोली सहभागी थिए ।

सबै सदस्यहरूको दक्षता र समन्वयका कारण कुनै पनि शल्यक्रियामा जटिलता नदेखिएको अस्पताल प्रशासनले जनायो ।

प्रतिक्रिया