क्रिकेटर पूजा महतोले भनिन् – “म चाहन्छु, मधेसबाट अनेक पूजा महतो जन्मून्”

newsdesk

राधेश्याम कुशवाहा, नाढीमन, सर्लाही ।। गणतन्त्र दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा १९ वर्ष मुनिको महिला टोलीकी कप्तान पूजा महतोलाई सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै महतोले गाउँपालिकाको सम्पूर्ण परिवारप्रति आभार प्रकट गरिन्।

“मलाई बोलाएर सम्मान गर्नु भयो, यसका लागि चन्द्रनगर गाउँपालिकाको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु,” उनले भनिन्।

महिलाहरूको उल्लेखनीय उपस्थितिले आफू निकै उत्साहित भएको बताउँदै उनले थपिन्, “कार्यक्रममा भारी संख्यामा महिलाहरू सहभागी हुनु गर्वको कुरा हो।”

महतोले मधेसमा क्रिकेटको बढ्दो लोकप्रियता र बालबालिकामा देखिएको लगावप्रति पनि सकारात्मक प्रतिक्रिया जनाइन्।

“साना-साना बच्चाहरूमा पनि क्रिकेटप्रतिको माया देखिरहेको छु। अहिले हाम्रो समाजमा क्रिकेटप्रतिको क्रेज र सम्मान बढेको छ,” उनले भनिन्।

भविष्यमा थप महिला खेलाडी जन्मिउन् भन्ने चाहना व्यक्त गर्दै पूजा महतोले भनिन्,

“म चाहन्छु, देश र मधेसमा अरू धेरै पूजा महतो जन्मून्। अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई अघि बढाउनुस्।”

बालबालिकालाई सम्बोधन गर्दै उनले भनिन्,

“आफ्ना आमाबाबुको दुःख र संघर्ष बुझ्नुहोस्। उहाँहरू आफैं नखाई पनि तपाईंहरूलाई सफल बनाउन चाहनुहुन्छ।”

अन्त्यमा उनले भनिन्,

“एउटी पूजा महतो कहिले पनि पर्याप्त हुदिन। म यही ठाउँबाट अनेक पूजा महतोहरू जन्मिनुहोस् भन्ने चाहन्छु।”

कार्यक्रमपछि पूजा महतोसँग सेल्फी खिच्नेहरूको भीड लागेको थियो। विद्यार्थी, बालबालिका, युवायुवती, कर्मचारी तथा जनप्रतिनिधिहरूले उत्साहपूर्वक महतोसँग फोटो खिचे।

गणतन्त्र दिवसको अवसरमा बोल्दै चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले लोकतन्त्रको आधारमा स्थापित गणतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरण सबै नागरिकको दायित्व रहेको बताए।

“गणतन्त्रको विकल्प फेरि गणतन्त्र नै हो,” अध्यक्ष महतोले दृढ स्वरमा भने, “मलाई लाग्छ, देशले बुझ्नुपर्ने सन्देश यही हो। गणतन्त्रको विकल्प कदापि राजतन्त्र वा अन्य कुनै तन्त्र हुन सक्दैन।”

उनले थपे, “हुन सक्छ, कहिलेकाहीं प्रणालीभित्र केही कमजोरी देखिएला, केही व्यक्तिहरूका कारण असन्तुष्टि जन्मिएला, तर त्यो समस्याको समाधान फेरि यही प्रणालीभित्र खोज्नुपर्छ। सुधार आवश्यक छ, तर प्रणाली परिवर्तन होइन।”

"हाम्रो मन, मस्तिष्क, हृदय र चेतनामा यो कुरा गहिरोसँग बसोबास गर्नुपर्छ – लोकतान्त्रिक गणतन्त्र नै हाम्रो पहिचान र भविष्य हो," उनले जोड दिए।

महतोले राष्ट्रिय स्तरमा सफलताका साथ उदाएका क्रिकेटर पूजा महतोको उदाहरण दिँदै भने, “मधेसी समाजको कठिन सामाजिक, आर्थिक पृष्ठभूमिबाट अघि बढेर पूजा महतोले देशको नाम उच्च बनाएकी छन्।

“देश र समाजमा सयौं–हजारौं पूजा महतोहरू जन्मून्, उनीहरूको पहिचान सशक्त होस्, योगदान उच्च होस्, जीवन सम्मानजनक, समृद्ध र प्रेरणादायी बनोस्,” भन्ने कामना पनि अध्यक्ष महतोले व्यक्त गरे।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा १९ वर्षमुनिको महिला टोलीकी कप्तान पूजा महतोलाई चन्द्रनगर गाउँपालिकाद्वारा विशेष सम्मान गरिएको छ।

गाउँपालिकाले नाढीतालमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजकुमार महतोले पूजा महतोलाई ५५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरे। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले सम्मान समारोहको विस्तृत जानकारी दिएका थिए।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका दुई शहीद — विद्यासागर महतो र शिवकुमार रामका परिवारलाई पनि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

त्यसैगरी विभिन्न आन्दोलनको क्रममा जेल जीवन बिताएका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई पनि २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया