राम विश्वास कुशवाहा, काठमाडौं, भदौ १४ । शैक्षिक तथा सामाजिक सेवामा निरन्तर सक्रिय प्रयास मञ्च नेपालले राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा “बुद्धवीर लामा १४औं साङ्गीतिक साँझ – २०८२” भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा ५०० भन्दा बढीको उपस्थितिमा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष तथा बज्जिका भाव शिरोमणी उपाधिले सम्मानित साहित्यकार रामचन्द्र महतो कुशवाहालाई विशिष्ट अतिथि आसनमा राखी पूर्व प्रधानमन्त्री झलनाथ खनालको हातबाट विशेष सम्मानपत्र र मायाको चिनो अर्पण गरिएको थियो।
साहित्यकार रामचन्द्र कुशवाहा नेपाल र भारत दुबै देशको साहित्य क्षेत्रमा परिचित नाम हुन्। उहाँले बज्जिका भाषालाई साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन योगदान गर्दै आएका छन्। उहाँका मौलिक कृतिहरूले केवल साहित्यिक जगतलाई मात्र नभई सामाजिक चेतनालाई समेत प्रेरणा दिएको छ। त्यसैगरी, विभिन्न संघ–संस्थामार्फत विपन्न, असहाय र बञ्चित वर्गलाई निरन्तर सहयोग गर्दै आएका कारण उहाँलाई “भाव शिरोमणी” को उपाधिले समेत सम्मानित गरिएको हो।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले प्रत्येक भाषाको साहित्यिक उन्नति राष्ट्रिय सम्पदा भएको उल्लेख गर्नुभयो। उहाँले साहित्यकार कुशवाहाको योगदानले बज्जिका साहित्यलाई नयाँ पहिचान दिलाएको र समाजमा सकारात्मक चेतना फैलाएको भन्दै प्रशंसा गर्नुभयो।
गीतिमय प्रस्तुतिसहित सम्पन्न सो साङ्गीतिक साँझलाई उपस्थित सहभागीहरूले उच्च मूल्याङ्कन गरेका छन्। शैक्षिक, सामाजिक र सांगीतिक क्षेत्रमा सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा साहित्यकार रामचन्द्र कुशवाहालाई प्रदान गरिएको सम्मानले समग्र बज्जिका साहित्यलाई गौरवान्वित बनाएको अनुभूति गराइएको छ।