दीपावली तथा छठ्को अवसरमा सर्लाहीमा सुरक्षा र विद्युत् आपूर्तिको विशेष व्यवस्था

newsdesk

सर्लाही। दीपावली र छठ पर्वलाई लक्षित गर्दै सर्लाही जिल्लामा शान्ति–सुरक्षा, विद्युत् आपूर्ति र आकस्मिक सेवाको विशेष तयारी गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसी बहादुर श्रेष्ठले जानकारी दिएका छन्।

उनीका अनुसार जिल्लाभर विद्युत् आपूर्तिमा अवरोध नआओस् भनेर मलंगवा, बरथवा र लालबन्दी वितरण केन्द्रका प्रमुखलाई प्रत्यक्ष रूपमा फिल्डमा खटिन र नियमित लोड व्यवस्थापन गर्न निर्देशन दिइएको छ। विद्युत् वितरणका सबै कर्मचारी र स्रोत साधन तयारी अवस्थामा राखिएको उनले जनाएका छन्।

त्यसैगरी, आकस्मिक घटनाका लागि मलंगवा नगरपालिकाको दमकल तथा नेपाली सेना तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको छ।

साथै, दीपावली र छठ पर्व अवधिभर जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सहितको संयुक्त गस्ती सञ्चालन गरिएको छ। जिल्लाका संवेदनशील र जोखिमपूर्ण क्षेत्रमा नियमित निगरानी गरिने सीडीओ श्रेष्ठले बताए।

विद्युत् वितरण केन्द्रका सम्पर्क नम्बर पनि सार्वजनिक गरिएको छ —

मलंगवा वितरण केन्द्र प्रमुख : ९८५४०६५७७७

बरथवा वितरण केन्द्र प्रमुख : ९८५४०५०४१५

लालबन्दी वितरण केन्द्र प्रमुख : ९८५४०६६७७७

यसअघि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकारहरूलाई पठाएको शुभकामना सन्देशमा भनेका छन् —

 “दीपावलीको पावन अवसरमा तपाईंहरू सबैमा उज्यालो, शान्ति र खुशी ल्याओस्। समाजलाई साँचो र निष्पक्ष जानकारी दिँदै आउनुभएका पत्रकार साथीहरूको समर्पण र प्रतिबद्धता प्रशंसनीय छ।”

श्रेष्ठले पत्रकारको भूमिका समाजको उज्यालो पक्ष झल्काउने शक्ति भएको उल्लेख गर्दै साँचो, निष्पक्ष र जिम्मेवार पत्रकारिताको निरन्तरताका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया