सर्लाही, भदौ २५ – सर्लाही जिल्लामा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सोमबार बिहान ८:३० बजेदेखि अर्को आदेश नहुँदासम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
प्रशासनले जारी गरेको आदेशअनुसार पछिल्ला दिनमा भएको प्रदर्शन, तोडफोड र अराजक गतिविधिका कारण जनधनको क्षति हुने अवस्था देखिएकाले नागरिकको सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्न कर्फ्यू आदेश आवश्यक भएको जनाएको छ।
आदेशअनुसार कर्फ्यू अवधिभर जिल्लाभित्र कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, भिडभाड, हिँडडुल, गोष्ठी तथा बैठक गर्न प्रतिबन्ध गरिएको छ। कर्फ्यू आदेश उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।
कर्फ्यू आदेश लागू हुने सीमा क्षेत्र पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, दक्षिणमा भारतको सीमा र उत्तरमा सिन्धुली जिल्ला तोकिएको छ।
यद्यपि, अत्यावश्यक सेवामा खटिएका एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन र सुरक्षाकर्मीका आवागमनमा भने कर्फ्यू आदेश लागू नहुने प्रजिअ श्रेष्ठले स्पष्ट पारेका छन्।