चन्द्रनगरबाट बालविवाह एवम दाईजोविरुद्ध सशक्त अभियान, उपसभामुख ठाकुरको प्रतिबद्वता

newsdesk

 सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका मा बालविवाह तथा दाईजो प्रथा उन्मूलनका लागि दुई दिने वृहत सभा सम्पन्न भएको छ । नेपाल सरकारकी उपसभामुख रुवी कुमारी ठाकुर को प्रमुख आतिथ्यतामा गाउँपालिकास्थित गौचरनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बालविवाह तथा दाईजो प्रथाको वर्तमान अवस्था, कानुनी प्रावधान र सुधारको आवश्यकताबारे मधेश प्रदेशस्तरीय सहजकर्ता सुनिल कुमार साहले प्रस्तुतिकरण गर्नुभएको थियो ।

राउण्ड टेबल कार्यक्रममा कविलासी नगरपालिकाका उपप्रमुख पुनम कर्ण, गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो, शहिदनगर नगरपालिका धनुषाको उपप्रमुख सुनिता कुमारी सिंह, उपप्रमुख, कर्जन्हा न.पा.सिरहा लक्ष्मी कुमारी श्रेष्ठ यादव, पटेर्वासुगौली गा.पाका उपाध्यक्ष ममता महतो, चन्द्रनगर गाउपालिकाका उपाध्यक्ष गीतादेवी महतो सहभागि भएको थिईन भने पोखरिया नगरपालिकाका पूर्व उपप्रमुख, सलमा खातुनले राउण्ड टेबल कार्यक्रमलाई सहजिकरण गर्नुभएको थियो । 

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको सहभागितामा आयोजित राउण्ड टेबल तथा प्यानल डिस्कर्सनमा बालविवाह तथा दाईजो उन्मूलनका लागि स्थानीय तहले हालसम्म गरेका प्रयास, उपलब्धि, चुनौती, सिकाइ र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा आफ्नो छोरीलाई कम्तीमा कक्षा १२ सम्म अध्ययन गराई २० वर्षपछि मात्र विवाह गराउने अभिभावकलाई सम्मान गरिएको थियो । यस्तै, छोरी वा बुहारीलाई स्नातक तहमा अध्ययन गराउने अभिभावक, दाईजो नलिई विवाह गर्ने युवा तथा उनका अभिभावकलाई पनि सम्मान गरिएको थियो । वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका सहभागीलाई पुरस्कार वितरण गरिएको थियो भने बालविवाह तथा दाईजो उन्मूलनका लागि स्थानीय तहको प्रतिज्ञा समेत व्यक्त गरिएको थियो ।

कार्यक्रममा बोल्दै रुवी कुमारी ठाकुर ले मधेसमा दाईजो प्रथा क्यान्सर रोगझैँ गहिरो रूपमा फैलिएको बताएकी छन् । दाईजोका कारण मधेसमा दिनहुँ हिंसा, उत्पीडन तथा हत्या जस्ता घटनाहरू भइरहेको उल्लेख गर्दै उनले सदनमा आफूले उठाउँदै आएको दाईजोविरुद्धको अभियान र दाईजोमुक्त समाज निर्माणको एजेण्डामा साथ दिएको भन्दै चन्द्रनगर गाउँपालिका लाई विशेष धन्यवाद व्यक्त गरिन् ।

उनले छोरीहरूलाई दबाएर नराख्न तथा छोरा–छोरी दुवैलाई समान रूपमा उच्च शिक्षा दिलाउन अभिभावकलाई आग्रह गरिन् । “अन्तिम सास रहुञ्जेल दाईजो प्रथा अन्त्यका लागि अभियान जारी राख्नेछु,” भन्दै उनले आफ्नो प्रतिबद्धता समेत व्यक्त गरिन् ।

बालविवाह र दाईजोका कारण धेरै छोरीहरू प्रताडित भइरहेको उल्लेख गर्दै उनले पीडित युवतीहरूलाई घर छोडेर भाग्ने होइन, आत्मनिर्भर बनेर आफ्नै खुट्टामा उभिन आग्रह गरिन् । जेन–जी पुस्ताको सोच र चेतनाले गाउँ, समाज हुँदै समग्र राष्ट्र परिवर्तन गर्न सक्ने विश्वास पनि उनले व्यक्त गरिन् ।

मधेसमा चार छोरी भएका परिवारले छोरीको विवाहकै कारण आफूलाई श्राप लागेको महसुस गर्ने सामाजिक अवस्था अझै कायम रहेको उल्लेख गर्दै उनले दाईजो प्रथा तथा बालविवाहजस्ता कुरीति र कुसंस्कार अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा गाउँपालिकाले छोरीहरूको उच्च शिक्षा तथा बालविवाह रोकथामका लागि सञ्चालन गरिरहेको योजनाबारे पनि जानकारी दिइएको थियो । गाउँपालिकाले कम्तीमा कक्षा १२ सम्म अध्ययन गरी २० वर्षपछि मात्र विवाह गर्ने छोरीलाई नगद ५० हजार रुपैयाँ तथा स्नातक तहमा अध्ययन गर्ने छोरीलाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

राजकुमार महतो ले दाईजो प्रथा तथा बालविवाह उन्मूलनका लागि स्थानीय तहबाट ५ देखि ७ बुँदे घोषणा पत्र जारी गरिने जानकारी दिए । उहाँका अनुसार गाउँपालिकाको लेटरहेडमै औपचारिक रूपमा घोषणा सार्वजनिक गरिनेछ ।

चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा किशोरी शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न आर्थिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा प्लस टु उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने ३७ जना किशोरी तथा स्नातक अध्ययन गर्ने ९७ जना किशोरीलाई प्रोत्साहन सहयोग प्रदान गरिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा २० वर्षपछि विवाह गर्ने २३ जना किशोरी र स्नातक अध्ययन गर्ने ८८ जना किशोरी लाभान्वित भएका छन् ।

गत आर्थिक वर्ष २०८१÷८२ मा २० वर्षपछि विवाह गर्ने ४९ जना तथा स्नातक अध्ययन गर्ने ३५ जना किशोरीलाई सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा हालसम्म २० वर्षपछि विवाह गर्ने ३९ जना किशोरी र स्नातक अध्ययन गर्ने ३५ जना किशोरी गरी लाभान्वित भएका छन् ।

हालसम्म गाउँपालिकाले प्लस टु पास गरी २० वर्षपछि विवाह गर्ने कुल १४८ जना किशोरीलाई जनही ५० हजार रुपैयाँका दरले तथा स्नातक अध्ययन गर्ने २५५ जना किशोरीलाई जनही ११ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको जनाएका छन ।

प्रतिक्रिया