पहिलो ईश्वरपुर, दोस्रो गोडैता: सर्लाहीका स्थानीय तहलाई केन्द्र सरकारबाट २३ अर्ब अनुदान

newsdesk

मलंगवा, सर्लाही — चालु आर्थिक वर्ष २०८२/८३ मा सर्लाही जिल्लाभित्रका २० वटा स्थानीय तहले केन्द्र सरकारबाट करिब २३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्। ईश्वरपुर नगरपालिका पहिलो र गोडैता नगरपालिका दोस्रो धेरै अनुदान प्राप्त गर्ने स्थानीय तह बनेका छन्।

केन्द्र सरकारबाट प्राप्त समानीकरण, सशर्त, विशेष र सम्पूरक अनुदान शीर्षकमा विनियोजित यो रकम ११ नगरपालिका र ९ गाउँपालिकामा बाँडिएको हो।

सबैभन्दा बढी रकम ईश्वरपुर नगरपालिकाले पाएको छ, जसले कुल ७२ करोड २३ लाख रुपैयाँ प्राप्त गरेको छ। यसमा समानीकरण अनुदान २९ करोड ५४ लाख, सशर्त ४२ करोड ८२ लाख, विशेष २ करोड ७५ लाख र सम्पूरक अनुदान २२ लाख ९० हजार रुपैयाँ रहेको छ।

त्यसपछि धेरै रकम प्राप्त गर्ने गोडैता नगरपालिकाले ५८ करोड ५० लाख रुपैयाँ पाएको छ। तेस्रो स्थानमा ५० करोड ६६ लाख रुपैयाँसहित मलंगवा नगरपालिका रहेको छ भने चौथोमा हरिपुर नगरपालिका ४८ करोड ८० लाख रुपैयाँ पाउँदैछ।

गाउँपालिका तर्फ चकघट्टा गाउँपालिका सबैभन्दा अगाडि रहेको छ, जसले ३५ करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसपछि रामनगर, पर्सा, विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि ३० करोडभन्दा बढी अनुदान पाएका छन्।

शीर्षकतर्फको रकम विवरण

अनुदान शीर्षक रकम (रुपैयाँ)

समानीकरण अनुदान ५८ करोड ८९ लाख

सशर्त अनुदान १३८ करोड ५२ लाख

विशेष अनुदान १२ करोड ३ लाख

सम्पूरक अनुदान ९ करोड ३८ लाख

विकास कार्यमा उपयोग हुने अपेक्षा

उल्लेखित रकम स्थानीय तहहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। सरकारले प्रदान गरेको यो अनुदानबाट सर्लाही जिल्लाको समग्र विकासमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।


प्रतिक्रिया