सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ त्रिवेणी चोकस्थित एक किराना पसलबाट लागुऔषध गाँजा बिक्री–वितरण भइरहेको अवस्थामा पसल सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४५ वर्षीय रुपेशकुमार साह र उनकी ३५ वर्षीया श्रीमती प्रतिमाकुमारी (नुनु कुमारी) साह रहेका छन्। उनीहरू किराना व्यवसायको आवरणमा गाँजा बिक्री गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा गरिएको कारबाहीमा दुई बोरा गाँजा, बिक्रीका लागि तयारी अवस्थामा रहेका पुडिया र विभिन्न पोलिथिन झोलामा राखिएका करिब २० किलो गाँजा बरामद गरिएको हो।
प्रहरीले जनाएअनुसार कारबाही तब सम्भव भयो जब एक लागुऔषध सेवनकर्तासँग सोधपुछ गर्दा उसले त्रिवेणी चोकस्थित उक्त किराना पसलबाट गाँजा खरिद गरेको खुलाएका थिए।
हाल पक्राउ परेका श्रीमान–श्रीमतीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।
केही दिन अघि सोही नगरपालिकाको वडा नम्बर–६ मा लागुऔषधकै विवादका कारण ४० वर्षीय रामपुकार यादवको गोली प्रहार गरी हत्या भएको थियो। उक्त घटनापछि सर्लाही प्रहरीले लागुऔषध नियन्त्रण र कारोवार रोकथाम अभियानलाई तीव्रता दिएको र पछिल्लो कारबाही सोही अभियान अन्तर्गत भएको बताइएको छ।