जनकपुरमा पत्रकारमाथि आक्रमण : मानव अधिकार आयोग र मिडिया निकायहरूको अनुसन्धान सुरु

newsdesk

जनकपुरधाम। नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिका पदाधिकारीमाथि नेपाल बार एसोसिएसन जनकपुरका केही पदाधिकारी र अधिवक्ताहरूले गरेको आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।


जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वर्गद्वारी नजिक गुठी संस्थानसँग भएको सम्झौता अनुसार प्राप्त जग्गामा पत्रकार सम्मेलनपछि तारको घेरा हाल्ने क्रममा भएको आक्रमणका तथ्य संकलनका लागि आयोगको टोली घटनास्थल पुगेको हो। टोलीमा मानव अधिकार अधिकृत किरण घिमिरे, राहुल कुमार ठाकुर र सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा रहेका थिए।


आयोगले नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेर विस्तृत जानकारी लिएको छ। महासंघका अनुसार घटनामा महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुन्निएको र पत्रकार दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको छ। महिला उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवसहितका महिला पत्रकारमाथि लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै हातपात भएको समेत जनाइएको छ।


यसैगरी मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवको नेतृत्वमा आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेश प्रमुख राजु पासमानसहितको टोलीले पनि घटनास्थल र अस्पताल पुगेर जानकारी संकलन गरेको छ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता लगायतले घटनालाई प्रेस स्वतन्त्रता, पेशागत मर्यादा र कानुनी शासनमाथि ठाडो चुनौतीको रूपमा औंल्याएका छन्।


मानव अधिकार आयोग, मिडिया काउन्सिल र आम सञ्चार प्राधिकरणले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया